बगनासकालीमा प्रधानमन्त्री रोजगार कार्यक्रम शुभारम्भ
बगनासकाली । ‘कर्मशील जनशक्ति बगनासकालीको सम्पत्ती भन्ने नाराका साथ बगनासकाली गाउँपालिकामा आजबाट प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ भएको छ । गाउँपालिकाको वडा नं. १ को गाबटुङ्गदेखि नायरसम्म जाने मोटरबाटोको नाली निर्माण योजनाको थालनीसँगै रोजगार कार्यक्रम शुभारम्भ भएको हो ।

गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्यालले छनोटमा परेका रोजगारमा संलग्न व्यक्तिहरूलाई बधाई तथा शुभकामना दिदै कामलाई प्रभावकारी बनाउन आग्रह गर्नुभयो । उहाँले गाउँपालिकाको विकासका लागि उर्जाशील श्रमिकको सदुपयोग महत्त्वपूर्ण हुने भन्दै पालिकाले विगतदेखि नै श्रमप्रतिको उच्च सम्मान गर्दै आएको जनाउनु भयो । सो अवसरमा वडा नं. १ का वडा अध्यक्ष सोम बहादुर झेंडीले गुनासो नआउने गरी कामलाई व्यवस्थित गर्न सुझाव दिनुभयो । उहाँले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक योजना अन्तर्गत वडा नं. १ मा २ वटा योजना रहेको जानकारी दिनुभयो ।

रोजगार संयोजक सरिता पाण्डेका अनुसार यस कार्यक्रमले वडा नं. १ का ११ जनाले रोजगारीको अवसर प्राप्त गरेका छन् । रोजगार शाखाका प्रविधिक पुरुषोत्तम न्यौपानले वडा नं. १ पहिलो चरणमा ४१ दिनको नाली निर्माणको काम सकिएपछि ५९ दिनको अर्को योजनाको काम थालिने बताउनुभयो । उक्त कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष सरस्वती चिदी, प्रमुख प्रशासकीय अधिकृत विष्ण घर्ती, गाउँपालिकाका विभिन्न शाखाका कर्मचारी रोजगारमा संलग्न व्यक्तिहरू लगायतको सहभागिता थियो ।





















