स्वयंसेविका गाउँका डाक्टर !

भोजराज भट्टराई
१९ मंसिर २०७८, आईतवार २१:१०

पाल्पा । ग्रामीण क्षेत्रको स्वास्थ्य क्षेत्रमा अग्रभागमा खटिने स्वयंसेविकाहरूले गाउँका डाक्टरको रूपमा सेवा प्रवाह गरेको एक कार्यक्रमका वक्ताले जोड दिनु भएको छ ।

मंसीर १९ गते बगनासकाली गाउँपालिका वडा नं. १ चिर्तुङ्धारा स्वास्थ्य संस्थामा १८ औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा आयोजित सम्मान कार्यक्रमका सहभागीले आधारभूत प्राथमिक स्वास्थ्य सेवाभित्र पर्ने सुरक्षित मातृत्व, परिवार नियोजन, बालस्वास्थ्य तथा समुदायमा आधारित स्वास्थ्य कार्यक्रमको प्रवद्र्धन गर्ने शिलशिलामा वडाभित्रका जनतालाई स्वास्थ्य सन्देश फैलाउने भएकोले महिला स्वास्थ्यकर्मीलाई गाउँका डाक्टरको रूपमा हेरिनुपर्नेमा जोड दिनुभयो । ‘स्वस्थ जीवनशैली हाम्रो आवश्यकता : संकट न्यूनिकरणमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका’ भन्ने नाराका साथ आयोजित कार्यक्रममा वडाभित्रका स्वयंसेविकाहरूलाई सम्मान गरिएको हो ।

सो अवसरमा बोल्दै बगनासकाली गाउँपालिकाका न्यायिक समिति सदस्य कूल प्रसाद ढुङ्गानाले सरकारी स्वास्थ्य सेवा राम्रोसँग प्रवाह हुन नसकेको भनेर आरोप लगाउनेहरूलाई स्वयम्सेविकाहरूले प्रभावकारी काम गरेर उदाहरण प्रस्तुत गरेको उल्लेख गर्दै उर्जा जगाएर सामाजिक सेवामा सक्रिय हुन आग्रह गर्नुभयो ।

कार्यक्रममा बोल्दै वडा नं. १ का अध्यक्ष सोम बहादुर झेंडी, वडा सदस्य मान बहादुर राना, स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारी, स्वास्थ्य चौकीका कर्मचारी चम्पा ढुंगाना, एम.आई.एस अपरेटर भोजराज भट्टराई लगायतले महिला स्वयम्सेविकाहरूले बाल तथा मातृसेवामा उल्लेखनिय योगदान पु¥याएको बताउनु भयो । कार्यक्रममा स्वयम्सेविकाहरू मथुरा ढकाल, दुर्गा राना, पेमा चिदीले कोभिड नियन्त्रण, बाल तथा मातृ मृत्युदर घटाउन समुदायमा स्वयंसेविकाको उल्लेख्य भूमिका हुने भन्दै स्थानीय तहले आवश्यक सहजीकरण गर्दै उत्प्रेरणा जगाउने कार्यक्रम बनाउनु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रम वडा नं. १ का अध्यक्ष सोम बहादुर झेंडीको अध्यक्षता, स्वास्थ्य संस्थाका सि.अ.हे.व महेश ढुंगानाको स्वागत र स्वास्थ्य संस्थाका इन्चार्ज नोद प्रसाद बस्यालको सञ्चालनमा भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*