नेपालमा पनि ओमिक्रोन भेरियन्ट पुष्टि

खबरपथ संवाददाता
२० मंसिर २०७८, सोमबार १६:०५

काठमाण्डौं । नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन भेटिएको पुष्टि भएको छ ।

सोमबार स्वास्थ्य मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा सह प्रवक्ता समीर अधिकारीले नेपालमा पनि ओमिक्रोन संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

एक जना ६६ वर्षीय विदेशी नागरिक र उनीसँग सम्पर्कमा रहेका ७१ वर्षीय अर्का नेपाली नागरिकमा यही मंसिर १९ गते ओमिक्रोन संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार उनीहरूको मंसिर ७ गते परीक्षण गरिएको थियो ।

दुवै जनाले कोरोना भाइरस विरूद्धको खोप पनि लगाएका थिए । गत मंसिर ३ गते नयाँ भेरियन्ट पुष्टि भएको देश हुँदै ६६ वर्षीय विदेशी नागरिक त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल हुँदै नेपाल प्रवेश गरेका थिए । नेपाल आउँदा नियमानुसार पीसीआर रिपोर्ट नेगेटिभ तथा खोपको मात्रा पूरा गरेको पाइएको थियो ।

तर कोभिड-१९ सँग मिल्दाजुल्दा लक्षणहरु देखिएको थियो । त्यसपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा जिन सिक्वेन्सिङ विधिबाट परीक्षण गर्दा  मंसिर १९ गते ओमिक्रोन नेपालमा पहिलो पटक पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ  ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*