‘बटौली’को प्रवद्र्धन तथा बिकासको लागि बुटवलमा अन्तरक्रिया

खबरपथ संवाददाता
१० पुष २०७८, शनिबार १८:४१

बुटवल । बटौली बजारको विकास तथा प्रवद्र्धनको लागि बुटवलमा अन्तरक्रिया कार्यक्रम गरिएको छ । रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं. १ र २ मा पर्ने पुरानो बुटवल (बटौली)को बिकास तथा प्रवद्र्धन र त्यसका माध्यमबाट यहाँको आर्थिक गतिबिधिलाई चलायमान कसरी गराउन सकिन्छ भन्ने विषयमा बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीले शनिबार बुटवलमा अन्तरक्रिया कार्यक्रम गरेको हो ।
कार्यक्रममा स्वागत गर्दै बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष उज्ज्वल प्रसाद कसजूले बुटवलको लागि ‘बटौली’ ऐतिहासिक महत्वको भएकाले त्यसको संरक्षण, बिकास र प्रवद्र्धन गर्न सकियो भने त्यसका माध्यमबाट त्यहाँको आर्थिक गतिबिधि बढाउन सकिन्छ भन्ने मान्यताका साथ संघले त्यसको संरक्षण र विकासको लागि पहल तथा पैरवी गरिएको बताउनु भयो ।
बटौलीको बिकासका लागि बुटवल उपमहानगरपालिकाले पनि केही कार्यक्रम अगाडि बढाएको छ । बुटवल उप महानगर पालिका वडा नं. १ का अध्यक्ष महेन्द्र लिगलले बटौलीको संरक्षण र बिकासका लागि नगरपालिकाले केही कामको सुरुवात गरेको बताउँदै सडक व्यबस्थापन, वार म्युजियम, जीतगढीमा पर्यटन बिकासको लागि नेपाली सेनासंग मिलेर कामहरु अगाडी बढाएको बताउनु भयो ।
बि.सं. १७६२/०६३ तिर सुरु भएको बटौली बजार २०२६/०२७ सालसम्म उत्तिकै चहलपहल थियो । तर २०२६ सालमा पूर्व पश्चिम महेन्द्र राजमार्ग निर्माण संगै बजार विस्तार हुँदै तिनाउ नदि भन्दा पूर्व सर्यो भने बटौली विस्तारिँदै गएको त्यसका जानकार बटौली संरक्षण तथा सम्वद्र्धन समितिका अध्यक्ष रबिन्द्र गोपाल लाकौल बताउनु हुन्छ ।
पुरानो बटौली बजार बुटवलको ईतिहास हो । ईतिहासको संरक्षण संगै त्यसको ऐतिहासिक महत्वको प्रचार प्रसार गर्न सक्ने हो भने त्यसका माध्यमबाट त्यहाँको आर्थिक कृयाकलाप समेत बढाउन सकिन्छ । त्यसलाई मध्येनजर गरेर बुटवल उद्योग बाणिज्य संघले विगत ३/४ वर्ष यता उक्त विषयमा छलफल चलाउँदै आएको छ ।

बि.सं. १७६२/०६३ तिर व्यापार जानेका कस्मिरका कसौधनलाई ल्याएर बटौलीमा व्यापारको लागि राखेको भन्ने भनाई छ । त्यस यता उक्त बजार बटौली संगै जोडिने नवलपरासी, कपिलबस्तु सहित पहाडी पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, वागलुङ, प्युठान लगायत २०/२२ जिल्लाको व्यापारको केन्द्र बनेको थियो । पहाडी जिल्लाबाट त्यहाँ उत्पादन हुने घ्यु, अदुवा, बेसार लगायतका जडिबुटीजन्य उत्पादन ल्याउँथे भने बटौलीबाट नुन, लत्ता कपडा लगायतका बजार गरेर फर्किन्थे ।
तत्कालिन पाल्पा राज्यका सेन बंसीय राजा मणिमुकुन्द सेनको सीतकालिन दरवार पनि त्यसै क्षेत्रमा थियो । जहाँ अहिले फूलवारी (मणिमुकुन्द उद्यान) बनेको छ । त्यसभित्र अहिले पनि मणिमुकुन्द सेनको सितकालिन दरवारको भग्नावसेस छ ।
नेपालमाथि अग्रेजले गरेको आक्रमणमा जीत हात पारेको गढि किल्ला पनि त्यसै क्षेत्रमा पर्दछ । नेपालले जीत हात पारे पछि उक्त गढी किल्लालाई जीतगढी किल्ला भनिन्छ । त्यसबाहेक मणिमुकुन्द सेनले काठमाण्डौबाट आए पछि स्थापना गरेको भैरवको मन्दिर पनि त्यसै क्षेत्रमा छ । जुन मन्दिर पाल्पाको भैरवस्थान मन्दिर भन्दा पनि पुरानो मानिन्छ । त्यो मन्दिर कहिले स्थापना भयो ठ्याक्कै भन्न नसकिए पनि पाल्पाको भैरवस्थान मन्दिर १३ सताब्दीतिरको भएकोले त्यो भन्दा पनि बुटवलको पुरानो भएको त्यसका जानकार रबिन्द्र गोपाल लाकौल बताउनु हुन्छ ।
त्यस्तै गणेशथान मन्दिर, गुम्बा र मुस्लिमको मस्जिद पनि भएकाले बटौलीको संरक्षण र बिकास गर्न सक्ने हो भने सबै प्रकारका धार्मिक पर्यटकलाई भित्र्याउन सकिने उहाँको भनाई छ । त्यस बाहेक स्थानीय कुजिनलाई एक्सफ्लोर गर्न सकियो भने पनि पर्यटनको केन्द्र बनाउन सकिने कतिपयको भनाई छ ।
बुटवल उद्योग बाणिज्य संघका कार्यसमिति सदस्य तथा बटौलीलाई नजिकबाट नियालेका सञ्जय कलवार जयसवालले ऐतिहासिक जीतगढी किल्ला, पुराना मठमन्दिरहरुको संरक्षण गर्दै स्थानीय कजिनलाई एक्सफ्लोर गर्न सक्ने हो भने पर्यटनको केन्द्रको रुपमा बटौलीलाई बिकास गर्न सकिने बताउनु हुन्छ ।
बुटवल उपमहानगरपालिकाका वरिष्ठ ईञ्जिनियर गौतम रौनियारले बटौलीको विकासमा नगरपालिकाको योजनाको बारेमा जानकारी गराउँदै नगरपालिकाले त्यस क्षेत्रमा अहिले तीन वटा काम अगाडि बढाएको जानकारी गराउनु भयो । पुरानो ईतिहास समेत समेटिने गरी वार म्युजियम र जीतगढी किल्लामा पर्यटन बिकासका काम भईरहेको उहाँले जानकारी गराउनु भयो । जहाँ नेपाल अंग्रेज युद्ध झल्किने दुश्य समावेश गरिनेछ । जुन दुबै काम अहिले अन्तिम अन्तिममा पुगेका छन् । त्यस्तै स्ट्रिट एलिभेसन (सडक व्यबस्थापन) को कार्यक्रम पनि नगरपालिकाले अगाडी बढाएको छ ।
अहिले काठमाण्डौ पुलचोक ईञ्जिनियरिङ कलेजको प्राध्यापक तथा आर्किटेक बिद्यार्थीको टोलीले बटौलीको स्थलगत अवलोकन गरिरहेको छ । स्थलगत अवलोकन पछि काठमाण्डौ फर्केर कानुन तथा अर्थ विज्ञहरुसंग समेत परामर्श गरेर २ महिना भित्र प्रतिवेदन तयार गरिने र नगरपालिकालाई प्रदान गरिने पुलचोक ईञ्जिनियरिङ क्याम्पसका प्राध्यापक अजय चन्द्र लालले बताउनु भयो ।
त्यस कार्यक्रममा बुटवल उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष खिमबहादुर हमाल, पूर्व अध्यक्ष तथा सल्लाहकार नवराज श्रेष्ठ, महिला उद्यमी सृष्टि गुरुङ, बुटवल उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य तथा बटौली प्रवद्र्धन समितिका संयोजक प्रतिक पोखरेल लगायतले भनाई राख्नु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*