देशका अधिकांश ठाउँमा वर्षा, हिमाली भेगमा हिमपात

खबरपथ संवाददाता
१४ पुष २०७८, बुधबार ०८:२५

काठमाण्डौं । काठमाडौं लगायत देशका अधिकांश ठाउँमा वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार गए रातिदेखि हल्कादेखि मध्यम वर्षा भएको छ।

देशभर नै पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेकोले हल्कादेखि मध्यम वर्षा भएको महाशाखाले जानकारी दिएको छ ।

मौसमविद् गंगा नगरकोटीका अनुसार काठमाडौंसहित देशभर वर्षा भइरहेको छ। बिहीबार बिहानसम्म वर्षा हुने सम्भावना रहेको उनले बताए।

काठमाडौंमा आज दिउँसो केहीबेर रोकिएर फेरि वर्षा हुने सम्भावना छ ।

पानी पर्न रोकिएर बादल हटे पछि तापक्रम यो वर्षकै न्यून हुनसक्ने उनले बताए । देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको पनि सम्भावना रहेको विभागको भनाइ छ।

काठमाडौंको चन्द्रागिरिमा हिमपात भएको छ । अहिले सक्रिय रहेको मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई–यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।

लगातार परेको पानीका कारण जाजरकोट, रुकुम पश्चिम र डोल्पाको जनजीवन प्रभावित भएको छ ।

उपल्लो डोल्पा, जाजरकोटको बारेकोट र रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको उच्च भागमा हिमपात जारी छ ।

हिमपातसँगै अधिकांश ठाउँको फोन सेवासमेत प्रभावित भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*