२० जिल्लाका प्रजिअलाई गृहमन्त्री खाँणको फोन
काठमाण्डौं । गृहमन्त्री बालकृष्ण खाणले २० जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई फोन गरी जानकारी लिनु भएको छ ।
गृहमन्त्री खाँणले जिल्लामा कोभिड १९ संक्रमण, शित लहरको अवस्था लगायत बारेमा सिडिओहरूलाई फोन गरी जानकारी लिनु भएको हो।
गृहमन्त्री खाणले शनिबार बिहान फोन गरी सिडिओहरूलाई सितलहर र हिमालमा हिमपातबाट बचाउन न्यानो कपडा र दाउरा वितरणबारे पनि जानकारी लिनुभएको हो ।
सरकारले गत मंसिर १ गते रकम खर्च गर्ने अख्तियारीसहित तराईमा शितलहरबाट बच्न र हिमालमा हिमपातबाट बच्न न्यानो कपडा वितरणका लागि निर्देशन पठाएको थियो । उक्त निर्देशनको कतिको कार्यान्वयन भयो भनेर मन्त्री खाणले जानकारी लिनुभएको हो।
ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले गृहमन्त्री खाणले टेलिफोनमा जिल्लामा कोभिड संक्रमणको अवस्था, रोक्नका लागि खोप लगाउने कार्य, आइसोलेसन, शान्ति सुरक्षाको अवस्था र न्यानो कपडा वितरणको अवस्थाबारे जानकारी लिनुभएको बताउनुभयो। ‘मन्त्रीज्यूले बिहान टेलिफोनमा मुख्यगरी जिल्लामा शान्ति सुरक्षाको अवस्था, कोभिड संक्रमण, कोभिडविरूद्धको खोप र शितलहरबारे जानकारी लिनुभयो,’ प्रजिअ तामाङले बताउनुभयो।
त्यस्तै, सीमा नाकाबाट आउने नागरिकमा कोभिडको संक्रमणबारे पनि मन्त्री खाणले जानकारी लिनुभएको छ ।
इलामका प्रजिअ माधव प्रसाद ढुंगानाले सीमाबाट आएका नागरिकमा कोभिडको संक्रमणको अवस्था, निको हुनेहरूको दर, विद्यालय सञ्चालनबारेको अवस्था कस्तो छ भनेर मन्त्री खाणले जानकारी लिनुभएको बताउनुभयो।
गोरखा र रसुवाका प्रजिअले हिमपातबाट बच्न नागरिकलाई न्यानो कपडा वितरण, कोभिड संक्रमणको अवस्था र शान्ति सुरक्षाको अवस्थाबारे गृहमन्त्रीले टेलिफोनबाट जानकारी लिनुभएको बताउनुभयो।





















