बगनासकालीले बनायो आफ्नै लोगो

भोजराज भट्टराई
१७ माघ २०७८, सोमबार २०:३९

पाल्पा  । पाल्पाको बगनासकाली गाउँपालिकाले आफ्नो लोगो बनाएर प्रयोगमा ल्याएको छ । दैनिक कार्यसम्पादनमा लोगो प्रयोगमा ल्याएसँगै बगनसकाली पाल्पामा स्थानीय स्तरमा लोगो प्रयोगमा ल्याउने पहिलो पालिका बनेको छ । स्थानीय सरकारले आफ्नो पहिचान झल्किने गरी प्रतीक चिन्ह लोगो बनाउन पाउने व्यवस्था अनुसार गाउँपालिकाको पहिचान झल्किने खालको लोगो तयार पारी प्रयोगमा ल्याएको प्रमुख प्रशासकीय अधिकृत विष्णु घर्तीले जानकारी दिनुभयो ।

गाउँपालिकाको १०९ औं बैठकको निर्णय अनुसार खुला प्रतिस्पर्धाबाट निर्माण गरिएको लोगोमा राष्ट्रिय झण्डा राष्ट्रको शान तथा राष्ट्रिय एकताको प्रतीक समावेश गरिएको छ । क्षितिजको भाग बगनास क्षेत्रबाट देखिने मनोरम तथा कञ्चन आकाश, हरियो पहाडी क्षेत्र गाउँपालिका नामाकरणको मुख्य स्थान बगनास डाडाँ, बगनासथोक, बन जंगल, जडिबुटी, बन्यजन्तु पाइने क्षेत्र तथा पहाडी क्षेत्रको प्रतीक समेटिएको प्रमुख प्रशासकीय अधिकृत घर्तीले बताउनुभयो ।

यस्तै बगनासको कला, सांस्कृतिक, धार्मिक स्थल, धर्म, संस्कार, संस्कृतिको महत्त्व रहेका स्थानहरू, मठमन्दिर, धार्मिक, सांस्कृतिक महत्त्वको दर्लम महाकालीलगायत सम्पूर्ण गुम्बा, शान्तिमय धार्मिक महत्त्व रहेको बौद्ध धर्मको प्रतीक आस्थाको धरोहर तथा स्थानीय लोककलाको झलक लोगोमा संलग्न गरिएको छ ।

त्यस्तैगरी कृषि उत्पादन, भाषा, कला, पुस्तक र दीयो सचेतना, भरोसा, प्रगति, शान्ति र समृद्धिको प्रतीक, ढाका र करुवा पाल्पा जिल्लाको मुख्य पहिचानको प्रतीक, रहेको लोगो बनाएर लागु गरिएको घर्तीले बताउनुभयो । जिल्लामा अन्य पालिकाले आफ्नै लोगो निर्माण गर्ने प्रयास गरिरहँदा बगनासकाली पहिलो लोगो निर्माण गर्ने पालिका बनेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*