तुलसीपुर आगलागी अपडेट : पाँचैजनाको पहिचान खुल्यो
घोराही । दाङको तुलसीपुरको एक घरमा आगलागी हुँदा मृत्यु भएका पाँचै जनाको पहिचान खुलेको छ ।
मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–५ का ४० वर्षीय नजरदिन अली, ६ वर्षीय आबिददिन अली, अन्दाजी १४ वर्षीया साजिदा खातुन, १४ वर्षकै हसन बकस र १७ वर्षीय मसिन बकस रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
उनीहरु घरमा सुतिरहेको बेला आज बिहान २ बजेतिर आगलागी सुरु भएको थियो । पाँचै जनाको धुवाँमा निसासिएर मृत्यु भएको प्रहरीले बताएको छ ।
आगलागीमा एकजना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पठाइएको छ ।
विद्युतको मिटर पड्किंदा आगलागी भएको अनुमान गरिएको छ । आगलागीबाट सोही घरमा रहेको इरम फुटवेयर चप्पल गोदाममा पनि क्षति भएको छ ।





















