शहिद क्या.लखन थापा मगरलाई राष्ट्रिय बिभुती घोषणा गर्न माग

लखन स्मृति दिवसको अवसरमा फागुन २ गते सार्वजनिक बिदा दिन माग
खबरपथ संवाददाता
२९ माघ २०७८, शनिबार २२:२८

बुटवल । नेपालका प्रथम शहिद क्या.लखन थापा मगरलाई राष्ट्रिय बिभुती घोषणा गर्न सरकोकारवालाहरुले माग गरेका छन् ।

१४५ औं लखन स्मृति दिवसको अवसरमा शनिबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा सरोकारवालाहरुले उक्त माग गरेका हुन् ।

प्रथम शहिद लखन थापा मगर अक्षयकोषद्धारा आयोजित कार्यक्रममा नेपाल मगर संघका केन्द्रीय उपाध्यक्ष दल बहादुर बिरकट्टा मगरले लखन थापालाई शहिद घोषणा गरिए पनि सम्मान नगरिएको भन्दै सम्मानका लागि उनलाई राष्ट्रिय बिभुति घोषणा गर्नुपर्ने बताए ।

शहिद कुनै जात, समुदाय र राजनीतिक दल बिशेषको नहुने भन्दै उनले एकतन्त्रीय जहानीया राणा शासन बिरुद्ध प्रजातन्त्र स्थापनाका लागि प्राणको आहुती दिने शहिद प्रति सम्मान दिन कन्जुस्याई गर्न नहुने बिचार ब्यक्त गरे ।

मुलुकको प्रथम शहिदको बारेमा सबै विद्यार्थीहरुले पढन पाउनुपर्ने उनको भनाई थियो । नेपाल मगर संघ रुपन्देहीका अध्यक्ष समेत रहेका प्रथम शहिद लखन थापा मगर अक्षयकोषका अध्यक्ष अन बहादुर सोतीको अध्यक्षता र मगर संघका केन्द्रीय उपाध्यक्ष बिरकट्टा मगरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अक्षयकोषका सह सचिब समेत रहेका मगर संघ बुटवलका अध्यक्ष थर्क बहादुर बारघरे, अक्षयकोषका उपाध्यक्ष तारा प्रसाद छन्त्याल लगायतले लखन थापा मगरलाई राष्ट्रिय बिभुति घोषणा गर्नुपर्ने, उनले शाहदत प्राप्त गरेको दिन फागुन २ गते सार्वजनिक बिदा दिनुपर्ने र राणा शासनको अत्त्य र प्रजातन्त्र स्थापनाका लागि उनले गरेको योगदानको बारेमा विद्यालयको पाठ्यक्रममा समावेश गरेर पठन पाठन गराउनुपर्ने माग गरेका थिए ।

यसैबीच प्रथम शहिद क्या.लखन थापा मगर अक्षयकोष सहित नेपाल मगर संघले लखन स्मृति दिवसको अवसरमा फागुन २ गते बुटवलको राजमार्ग चौराह स्थित लखन थापाको शालिकमा माल्यार्पण गर्नुका साथै शहिदको बलिदानी चर्चा र श्रद्धाञ्जली अर्पण सहित मनाउन लागिएको पत्रकार सम्मेलनमा बितरित प्रेस विज्ञप्तिमा जनाइएको छ ।

बुटवलमा हुने स्मृति दिवस कार्यक्रम लुम्बिनी प्रदेश सभाका सभामुख पूर्ण बहादुर घर्ती मगरको प्रमुख आतिथ्यतामा सम्पन्न हुने मगर संघ रुपन्देही अध्यक्ष अन बहादुर सोतीद्धारा हस्ताक्षरीत विज्ञप्तिमा जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*