आर्यभञ्ज्याङमा कृषि, पशु र आयुर्वेदको एकीकृत सेवा शुभारम्भ

भोजराज भट्टराई
१ फाल्गुन २०७८, आईतवार २२:१२

पाल्पा । पाल्पा बगनासकाली गाउँपालिकाको वार्ड २ र ३ लाई पायक पर्ने गरी कृषि, पशु तथा आयुर्वेदको एकीकृत सेवा शुभारम्भ गरिएको छ । गाउँपालिकाको वार्ड नं. ३ आर्यभञ्ज्याङमा यसअघि सेवा रोकिएको पशु सेवा केन्द्रको भवनबाट आइतबारदेखि कृषि, पशु तथा आयुर्वेदको एकीकृत सेवा सुचारु गरिएको हो ।


आइतबार मात्र एकीकृत आयुर्वेदतर्फ १४, कृषितर्फ १६ र पशुसेवातर्फ ८ जनाले सेवा लिएका छन् । एकीकृत सेवा शुभारम्भ समारोहमा बोल्दै गाउँपालिका उपाध्यक्ष सरस्वती चिदीले वार्ड २ र ३ को लागि पायक पर्नेस्थानमा एकीकृत सेवा इकाई सुचारु गरिएकोले घरदैलोमा आएको सेवाको भरपुर सदुपयोग गर्न स्थानीयलाई आग्रह गर्नुभयो । उहाँले बगनासकालीको आर्थिक आय आर्जनको स्रोत कृषि र पशुपालन भएकोले गाउँपालिकाले कृषि र पशुपालनलाई आत्मनिर्भर गराउने गरी कार्यक्रम गर्दै आएको बताउनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत विष्णु घर्तीले घरदैलोमा सेवा विस्तार गर्ने उद्देश्यले बन्द भएको सरकारी भवन प्रयोगमा ल्याउने गरी सेवा शुभारम्भ गरिएको बताउनुभयो । उहाँले सेवालाई निरन्तरता दिनको लागि गाउँपालिकाबाट आवश्यक सहयोग हुने वचन दिनुभयो ।


गाउँपालिका प्रवक्ता लक्ष्मी प्रसाद अधिकारीले घरदैलोबाट दिइने सेवा स्थानीय नागरिकको लागि खुसीको अवसर भएको भन्दै गाउँपालिकाले कर्मचारी र सेवाग्राहीमा आवश्यक समन्वयगरी सेवालाई थप प्रभावकारी बनाउनेगरी प्राविधिक उपलब्ध गराउन गाउँपालिका लागिपर्ने बचन दिनुभयो ।
सोही अवसरमा वार्ड नं. ३ का वडा अध्यक्ष टिकाबहादुर थापा, वडा नं. २ का वडा अध्यक्ष टेकनाथ शर्मा गहिरे, आयुर्वेद सेवातर्फका वैद्य निरीक्षक धिरज पराजुली, पशु सेवा शाखा प्रमुख गणेश नेपाली, स्थानीय सेवाग्राही चन्द्रकला न्यौपाने, पशु सेवा प्राविधिक कमला खनाल लगायतले वडातहमा शुभारम्भ भएको सेवाकेन्द्रको सेवा विस्तारका लागि स्थानीय नागरिकबाटै सहयोग, समन्वय र प्रचारप्रसार गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रम वडा नं. ३ का सचिव नारायण गैरेको सञ्चालनमा भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*