बौद्ध विश्वविद्यालय बेरुजु फछर्याैटमा तेस्रो पटक पनि उत्कृष्ट
बुटवल । लुम्बिनी बौद्ध विश्वविद्यालय बेरुजु फछर्याैटमा लगातार तेस्रो पटक उत्कृष्ट बनेको छ । बेरुजु फछर्याैट मुल्यांकन तथा अनुगमन समितिले बेरुजु फछर्याैटमा निर्धारण गरेका लक्ष्य पुरा गर्दै विश्वविद्यालय उत्कृष्ट बनेको हो । उत्कृष्ट बनेको विश्वविद्यालयलाई अनुगमन समितिले पुरस्कृत गरेको छ ।

क्याप्सन : बेरुजु फछर्याैट मुल्यांकन तथा अनुगमन समितिले दिएको उत्कृष्टताको पत्र ।
महालेखा परीक्षकको कार्यालयबाट भएको लेखा परीक्षणमा कुल अंकको १ प्रतिशत भन्दा कम बेरुजु कायम गर्ने र विगतको वेरुजु फछर्याैटमा उत्कृष्टता कायम गर्ने निकायलाई समितिले पुरस्कृत गर्ने गर्दछ । लुम्बिनी बौद्ध विश्वविद्यालयको आर्थिक वर्ष ०७६/०७६ को लेखा परीक्षणमा शुन्य दशमलव ४० प्रतिशत मात्रै बेरुजु देखिएको छ । महालेखाले ५८ करोड २५ लाख ६४ हजारको लेखा परीक्षण गर्दा २३ लाख ४ हजार बेरुजु देखिएको छ ।
त्यस्तै विगतका वर्षहरुमा बेरुजु रहेको ३० लाख ८१ हजारमध्ये २२ लाख ४२ हजार फछर्याैट भएको विश्वविद्यालयले जनाएको छ । यो ७२ दशमलव ७७ प्रतिशत हो ।
अनुगमन समितिका अध्यक्ष एवं मुख्य सचिव शंकरदास बैरागीले विश्वविद्यालयका रजिष्ट्रार डा. तिलकराम आचार्यलाई १० हजारबाट पुरस्कृत गर्न सिफारिस गरेका छन् । अनुगमन समिति मुख्य सचिवको अध्यक्षतामा हुने व्यवस्था छ ।
विश्वविद्यालयले यसअघिका दुई आर्थिक वर्षमा पनि लक्ष्य अनुरुप बेरुजु फछर्याैट गरेको थियो । ०७५ साउनदेखि ०७६ असारसम्मको बेरुजु मध्ये विश्वविद्यालयले ७८ दशमलव शुन्य ३ प्रतिशत फछर्याैट गरेको थियो । आर्थिक वर्ष ०७४/०७५ को स्रेस्ता लेखा परीक्षणबाट शुन्य दशमलव शुन्य ८ प्रतिशत बेरुजु कायम गरेको भन्दै बेरुजु फछर्याैट मुल्यांकन तथा अनुगमन समितिले पुरस्कृत गरेको थियो ।
विश्वविद्यालयको लेखा परीक्षणमा बेरुजु २ करोड ९२ लाख ३८ हजार रहेको थियो । बेरुजु फछर्याैटका क्रममा असुल उपर गरिएको रजिष्ट्रार डा. तिलकराम आचार्यले बताए । ‘बौद्ध विश्वविद्यालय मुलुककै धरोहर र आस्थाको केन्द्र हो, यस्तो संस्थामा बेरुजु हुनु अशोभनीय हुन्छ, उनले भने,‘बेरुजु शुन्य प्रतिशतमा झार्ने गरी आर्थिक पारदर्शिताको नीति हामीले अबलम्बन गरेका छौं ।’ विश्वविद्यालयले करोडौंका भौतिक पूर्वाधार निर्माणका योजनामा काम गरिरहेको छ ।
विश्वविद्यालयमा १० वर्ष अघिदेखिको बेरुजु कायम थियो । ०७४/०७५ को लेखा परीक्षणमा बेरुजु २ लाख ११ हजार मात्रै कायम भएको थियो । त्यसअघिको बेरुजु करिव ३ करोडबाट ६६ लाख ३६ हजारमा झारिएको थियो । एक वर्षको अवधीमा विश्वविद्यालयले २ करोड २८ लाख १३ हजार फछर्याैट गरेको थियो ।
विश्वविद्यालयसंग नयाँ र पुरानो गरी फछर्याैट गर्नुपर्ने बेरुजु ३१ लाख ४३ हजार रहेको छ । उक्त बेरुजुमध्ये धेरै नियमित गर्नु पर्ने बेरुजु हो । जसलाई चालु आर्थिक वर्षमा फछर्याैट गरिने रजिष्ट्रार आचार्यले जानकारी दिए । असुल गर्नुपर्ने बेरुजु पनि असुरउपर गरिने उनले बताए ।





















