‘आध्यात्मिक शिक्षा आत्मिक खुराक’
पाल्पा । ईश्वरीय आस्थाले आत्मिक विश्वास बढ्ने भएकाले आध्यात्मिक शिक्षालाई आन्तरिक खुराक सम्झिनुपर्नेमा एक कार्यक्रममा बक्ताले जोड दिएका छन् । उनीहरूले समाजमा बढ्दो अपराध न्यूनीकरण गर्न आध्यात्मिक शिक्षा आवश्यक भएकाले शान्ति, कायम गर्न ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयको योगदान महत्त्वपूर्ण भएको बताएका छन् । मंगलबार महाशिवरात्रीको अवसरमा ब्रह्मकुमारी ईश्वरीय विद्यालयले आयोजना गरेको शिवरात्री मिलन कार्यक्रमका वक्ताले समृद्ध समाज निर्माण गर्न भौतिक विकास मात्र नभई मानवीय पनि आवश्यक भएको बताएका हुन् ।

कार्यक्रममा लुम्बिनी प्रदेश सांसद पुरनमान बज्राचार्य, रेडक्रस पाल्पाका सभापति बुद्धिप्रसाद शर्मा, नेपाली कांग्रेस पाल्पा सभापति हिमालदत्त श्रेष्ठ, रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायणबहादुर जिसी, तानसेन नगरपालिका वडा नं। ६ का वडा अध्यक्ष सागरमान महर्जन, पत्रकार राजेन्द्र लिगल लगायतले मन्तव्य राख्दै समाजमा अध्यात्मक चेतना बढाउन ईश्वरीय विश्वविद्यालयको सकारात्मक भूमिका रहेको बताउनुभयो ।
सोही अवसरमा ब्रह्मकुमार भानुप्रकाश पौडेलले शिवरात्रीको महत्वमाथि प्रकाश पार्दै काम, क्रोध, लोभ, मोह र अहंकार त्याग्न ध्यान, योग र साधना निरन्तर आवश्यक हुने औंल्याउनुभयो । ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय पाल्पाकी सञ्चालिका प्रेमाको अध्यक्षता र ब्रह्मकुमार भानुप्रकाश पौडेलको सञ्चालनमा कार्यक्रम भएको हो ।





















