नेपाल पत्रकार महासंघले ६७ औं स्थापना दिवसको अवसरमा ‘एफएनजे मिडिया कप फुटसल’ प्रतियोगिताको आयोजना गर्ने

खबरपथ संवाददाता
२२ फाल्गुन २०७८, आईतवार १५:२८

काठमाण्डौं । नेपाल पत्रकार महासंघले आफनो ६७ औं स्थापना दिवसको अवसरमा ‘एफएनजे मिडिया कप फुटसल’ प्रतियोगिताको आयोजना गर्ने भएको छ । महासंघले २०७८ चैत १६ गते आफ्नो ६७ औं स्थापना दिवस मनाउँदैछ । स्थापना दिवसको अवसरमा महासंघले यस पटक पत्रकारबीच पहिलो ‘एफएनजे मिडिया कप फुटसल’ प्रतियोगिता आयोजना गर्ने भएको हो । पत्रकारबीच निरन्तर समन्वय, सहकार्य र भाइचाराको वातावरण तयार गर्ने उद्देश्यले महासंघले फुटसल प्रतियोगिताको आयोजना गर्न लागेको हो ।

मिडिया कप फुटसल प्रतियोगिताले विभिन्न सञ्चारगृहमा कार्यरत र विभिन्न संगठनमा आवद्ध पत्रकारका लागि एक आपसमा मैत्रीपूर्ण प्रतिस्पर्धा गर्न सहयोगी हुने विश्वास महासंघको छ । साथै, यसले प्रतियोगितामा भाग लिने पत्रकारमात्र नभई दर्शकका रूपमा उपस्थित हुने अन्य सयौं पत्रकारलाई पनि अन्तरक्रिया र संवादको अवसर दिने महासंघको विश्वास छ ।

चैतको दोस्रो साता हुने फुटसल प्रतियोगितामा १५ भन्दा बढी टिमका १५० भन्दा बढी पत्रकारले सहभागिता जनाउने अपेक्षा गरिएको छ । दुई दिनसम्म चल्ने मिडिया कप फुटसल प्रतियोगितामा सञ्चार गृह, महासंघको प्रदेश र जिल्ला शाखाको साथै एसोसियट संस्थाहरूलाई सहभागिता जनाउन महासंघले अपिल गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*