तिलोत्तमा अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणीकरण नगरपालिका
तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिका अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणित नगरपालिका बनेको छ । अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणित हुने तिलोत्तमा सम्भवत मुलुककैं पहिलो नगरपालिका हो ।
कार्य सम्पादनका विभिन्न ३६ वटा सूचक पुरा गरी युनाइटेड एग्रिडेशन फाउण्डेशन (युएएफ) अमेरिकाले नगरपालिकालाई अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणित गरेको छ ।
मंगलबार नगरपालिकामा आयोजित कार्यक्रममा आइएसओ सर्टिफिकेशन नेपालका निर्देशक सुदिप शर्माले नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरेलाई प्रमाणपत्र प्रदान गर्नुभयो ।

तिलोत्तमाले विभिन्न सूचक पार गरेर अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह प्राप्त गर्ने पहिलो स्थानीय तह बनेको निर्देशक शर्माले बताउनुभयो । नगरपालिकाले गरेको कार्यसम्पादनका आधारमा गरिएको अनुगमनबाट सो प्रमाणपत्र प्रदान गरिएको उहाँले स्पष्ट पार्नुभयो । उहाँले देशभरमा अन्य पालिकाहरुले समेत अन्तर्राष्ट्रिय गुणस्तर लिन प्रक्रिया अगाडी बढाइरहेको जानकारी दिनुभयो ।

कार्यक्रममा नगर प्रमुख बासुदेव घिमिरेले सबैको सहकार्यले नगरपालिकाले अन्तर्राष्ट्रिय गुणस्तर प्राप्त गरेको बताउँदै सबैप्रति आधार व्यक्त गर्नुभयो । उहाँले ३ वर्षसम्म म्याद रहने सो गुणस्तरलाई दिगोपन दिन सबै कर्मचारी, जनप्रतिनिधि नगरबासीहरुको महत्वपूर्ण भूमिका रहने बताउनुभयो ।
सो अवसरमा नेकपा एमालेका जिल्ला सचिव यज्ञ गैरे, नेपाली कांग्रेसका नगर सभापति हरिलाल पाण्डे, नेकपा माओबादी केन्द्रका नगर अध्यक्ष बेलप्रसाद शर्मा , उपप्रमुख जगेश्वरदेवी चौधरी, प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवाली लगायतले बोल्दै नगरपालिकाले एक पछि अर्को गर्दै प्राप्त गरेको सफलताले नगरबासीको शिर उच्च बनाएको बताउनुभयो । विभिन्न राजनीतिक दल, संघ–संस्था, सञ्चारकर्मी, कर्मचारी, टोल विकास संस्थाहरुका प्रमुख तथा प्रतिनिधिहरुको सहभागितामा कार्यक्रम भएको थियो ।





















