उपत्यकामा आज घोडेजात्रा मनाइँदै
काठमाण्डौं । आज काठमाडौं उपत्यकामा घोडेजात्रा मनाइँदैछ । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने यो पर्व टुँडिखेलमा घोडा दौडाएर मनाउने गरिन्छ । दौडाइएको घोडाको टापले कुल्चेर ‘दुष्टात्मा धपाउन सकिन्छ’ भन्ने जनविश्वास रहेको छ ।
जनविश्वास अनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेको थियो।
पीडित स्थानीयले विभिन्न उपायले त्यसलाई संहार गरे। राक्षसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्न सक्ने भय स्थानीयमा रहिरह्यो। यसै कारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको हो।
चैत कृष्ण औंसीका दिन मनाइने नेपाली सेनाले अश्वकला, अश्व दौड लगायत प्रदर्शनी गरेर सैनिक मञ्च टुँडिखेलमा जात्रा मनाउने परम्परा छ । उपत्यकामा घोडेजात्रा मनाउने परम्परा पनि मध्यकालदेखि नै प्रारम्भ भएको मानिन्छ ।
पहिले नयाँ वर्षलाई मनोरञ्जनात्मक बनाउनको लागि घोडेजात्रा पर्व मनाइन्थ्यो भन्ने कथन समेत रही आएको छ । हाल आएर हरेक वर्ष चैत्र कृष्ण औँशीका दिन घोडेजात्रा मनाउने गरिएको छ । जनविश्वासमा आधारित यस परम्परालाई कायम राख्न तथा संस्कृतिको संरक्षण गर्न नेपाली सेनाले घोडेजात्राको दिन नेपाल क्याभ्लरीको कमाण्डिङ अफिसरको नेतृत्वमा घोडाघोडीबाट कौशलपुर्ण एवं रोमाञ्चक कला प्रदर्शन गर्ने गरिन्छ ।





















