प्रशासकीय भवन बनाउँदै बगनासकाली गाउँपालिका
पाल्पा । पाल्पाको बगनासकाली गाउँपालिकाले आफ्नै प्रशासकीय भवन निर्माण शुरु गरेको छ । गाउँपालिकाको आफ्नै भवन नहुँदा सेवा प्रवाहमा समस्या भइरहेको बेला प्रशासकीय भवन निर्माण शुरु गरेको हो ।
हाल गाउँपालिकाले साविकको चिर्तुङ्धारा गाविसले प्रयोगमा ल्याएको भवनबाट सेवा दिन बाध्य छ । प्रशासकीय भवनको शुक्रबार एक कार्यक्रमका बीच शिलन्यास गरिएको थियो । बगनासकाली–१, स्थित चिलाङ्दीमा प्रशासकीय भवनको शिलन्यास गरिएको हो । भवनको शिलन्यास गर्दै गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद बस्यालले भवनको निर्माण कार्य समयमै सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो ।

६ करोड ४७ लाख ८४ हजार उनानब्बे रुपैंयामा भवन निर्माणका लागि ठेकेदार कम्पनीसँग सम्झौता भएको अध्यक्ष बस्यालले बताउनुभयो । कुल लागत मध्ये ६० प्रतिशत संघीय सरकारको समानीकरण अनुदान रहेको छ भने ४० प्रतिशत गाउँपालिकाले व्यहोर्ने उहाँले जानकारी दिनुभयो । बस्यालका गाउँपालिकाले लिफ्टसहितको भूकम्प प्रतिरोधी भवन बनाउनेछ । सम्झौता अनुसार भवन निमार्णको लागि संघीय सरकारले ४ करोड ३६ हजार ५ सय ६७ र गाउँपालिकाले २ करोड ६६ लाख ९१ हजार ४४ रुपैंया बेहार्नुपर्ने हुन्छ ।
विभिन्न स्थानीय तहमा सवारी साधन खरीद प्राथमिकतामा परेकाले गाउँ, नगर र वडा कार्यालयका भवन निर्माण हुन नसकेको आरोप लागिरहेका बेला बगनासकाली गाउँपालिकाले भने प्रशासकीय भवन निर्माणको काम अघि बढाएको छ ।
‘हाम्रो पहिलो प्राथमिकता प्रशासकीय भवन नै थियो’, अध्यक्ष बस्यालले भन्नुभयो, ‘विगतका केही वर्ष भवन निर्माणको लागि उपयुक्त स्थानमा जग्गा नभेटिनु, कानूनी जटिलता लगायतका विभिन्न कारणले ढिलाई भएपनि अब शिलन्यास भएरै काम अघि बढिसकेको छ ।’

भवन निर्माणपछि गाउँपालिकाको कामकाजमा निकै सहजता आउने र सेवाग्राहीलाई अझ गुणस्तरीय सेवा प्रदान गर्नमा मद्दत पुग्ने गाउँपालिका उपाध्यक्ष सरस्वती दर्लामी चिदीले बताउनुभयो ।
भवन निर्माणको काम तीव्र गतिमा बढाउने बताउँदै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु घर्तीले भन्नुभयो, ‘शिलन्यास भएर निर्माण शुरु भइसकेको छ । तोकिएकै समयमा निर्माण सक्न हामी निर्माण कम्पनीलाई घच्घच्याइरहन्छांै’ घर्तीले भन्नुभयो । उहाँले भवन निर्माणपछि कार्यालय सञ्चालनसँगै जनताले अपेक्षा अनुसार सेवा प्रवाहमा थप सहजता आउने बताउनुभयो ।
फागुन महिना ८ गते ठेकेदार कम्पनी न्यू ड्रयागन आर आर जे.बीसँग भएको निर्माण सम्झौता अनुसार २०८० साल भदौ ८ सम्म ठेकेदार कम्पनीले भवन निर्माण गरी गाउँपालिकालाई हस्तान्तरण गर्नेछ । भैरव मन्दिर सामुदायिक बनको गौचरनको जग्गा २५ वर्ष लिजमा प्रयोग गर्न लिएको इन्जिनियर विपिन ढकालले जानकारी दिनुभयो ।
गाउँपालिकाले भोगचलन गर्ने १३ रोपनी ३ आना जग्गामध्ये ११ आना जग्गाभित्र ४०१० वर्गफिटमा निर्माण हुने प्रशासकीय भवन ४ तलाको हुने प्राविधिक ढकालले जानकारी दिनुभयो । भवन निर्माणपछि कार्यालय सञ्चालनसँगै जनताले अपेक्षा अनुसार सेवा प्रवाहमा थप सहजता आउने गाउँपालिकाले लक्ष्य लिएको छ ।





















