व्यक्तिगत घटना दर्ता नागरिकको मौलिक अधिकार

भोजराज भट्टराई
४ बैशाख २०७९, आईतवार २१:०५

पाल्पा । व्यक्तिगत घटना दर्ता नागरिकको मौलिक अधिकार भएकोले यसलाई सार्थक उपयोग गर्नुपर्नेमा एक कार्यक्रमका वक्ताले जोड दिएका छन् । व्यक्तिगत घटना दर्ता सप्ताहको सन्दर्भ पारेर आइतबार बगनासकाली गाउँपालिका वार्ड नं. १ ले आयोजना गरेको अन्तरक्रियाका सहभागीले आमनागरिक व्यक्तिगत घटना दर्ताको आवश्यकता र महत्त्वप्रति सजग र सचेत हुनुपर्नेमा जोड दिएका हुन् ।

कार्यक्रममा आफ्नो धारणा राख्दै गाउँपालिका उपाध्यक्ष सरस्वती चिदीले सरकारले विभिन्न सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गरेकोले तिनका लागि पनि घटना दर्ताले कानुनी आधार तयार गर्ने भएकाले यसको महत्त्व आमनागरिकमा बुझाउनुपर्ने बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत विष्णु घर्तीले व्यक्ति र राज्यको कानुनी सम्बन्ध यहीँबाट जोडिने भएकोले काम परेका बेलामात्रै प्रमाणपत्र लिने प्रवृत्तिमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा वार्ड नं. १ का अध्यक्ष सोमबहादुर झेंडी, न्यायिक समिति सदस्य, कुलप्रसाद ढुंगाना, वडा सचिव विराट गैरे, ग्राम्य मा।वि।का प्रधानाध्यापक शालिकराम ढुंगाना, बालज्योति प्रा।वि।का प्रधानाध्यापक छविलाल गैरे, चिर्तुङधारा स्वास्थ्यचौकी इन्चार्ज नोदप्रसाद बस्याल, महिला स्वास्थ्य स्वयमसेविका पेमा चिदी, दुर्गा राना, विष्णुमाया सिंजाली लगायतले अंश, आफन्तसँगको कानूनी सम्बन्ध, विद्यालय भर्ना, नागरिकता प्राप्त गर्न, राहदानी लगायत राज्यबाट पाउने सुविधा उपभोग गर्न व्यक्तिगत घट्ना दर्ता पहिलो महत्त्वपूर्ण आधार हुने भएकोले आमनागरिकमा चेतना अभिवृद्धि गर्नुपर्ने धारणा राख्नुभयो ।

सोही अवसरमा घट्ना दर्ताको संक्षिप्त जानकारी प्रस्तुत गर्दै एम.आइ.एस. अपरेटर भोजराज भट्टराईले व्यक्तिगत घटना दर्ता नागरिकको मौलिक अधिकार भएकाले जन्म, विवाह, वा मृत्युको ३५ दिनभित्र आफ्नो वार्डमा घटना दर्ता गराई आफ्नो अधिकार उपयोग गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले अहिले पनि व्यक्तिगत घटना दर्ताको महत्त्व र आवश्यकता धेरैले नबुझेको, कतिपय बुझेका नागरिकले पनि वेवास्ता गर्दै आएकाले गाउँपालिकाको यथार्थ विवरण अद्यावधिक गर्न केही समस्या रहेको भन्दै जनप्रतिनिधी, सचेत नागरिकहरूले थप सक्रियता देखाउनुपर्ने बताउनुभयो ।

कार्यक्रमका सहभागीले व्यक्तिगत घटना दर्ताका सम्बन्धमा आइपर्ने समस्या र समाधानका उपायहरूका बारेमा चर्चा गर्नुभएको थियो । गाउँपालिकाका न्यायिक समिति सदस्य कुलप्रसाद ढुंगानाले स्वागत गरेको कार्यक्रमको सञ्चालन वडा सचिव विराट गैरेले गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*