आजबाट एसईई परिक्षा सुरु
बुटवल । आजबाट यस वर्षको एसईई परिक्षा सुरु भएको छ । कोभिड-१९ महामारीका कारण विगत दुई शैक्षिक सत्र विद्यालयको आन्तरिक मूल्याङ्कनबाटै सञ्चालन भएको माध्यमिक शिक्षा परीक्षा एसईई यो वर्षबाट पुनः विद्यार्थीहरूको भौतिक उपस्थितिमा सञ्चालन भएको हो । परीक्षामा देशभरबाट पाँच लाख १४ हजार ९६७ परीक्षार्थी परीक्षामा सहभागी हुने राष्ट्रिय परीक्षा वोर्डले जनाएको छ ।
कुल परीक्षार्थीमध्ये छात्राको संख्या २ लाख ५७ हजार ९ सय २४ छ भने छात्रको संख्या २ लाख ५७ हजार ५३ रहेको छ । त्यस्तै, परीक्षामा प्राविधिक समूहमा ४२ विषय समावेश छन् भने प्राविधिक धारका विद्यार्थीको संख्या १४ हजार ५ सय ६४ छ । ग्रेडवृद्धि परीक्षामा ११ हजार ४ सय १४ परीक्षार्थी सहभागी हुँदैछन् ।
परिक्षामा लुम्बिनी प्रदेशबाट ८६ हजार ६२४ परीक्षार्थी सहभागि हुने छन् । लुम्बिनी प्रदेशबाट परीक्षामा सहभागि हुने परीक्षार्थी मध्ये २ हजार ८६६ जना प्राविधिक धारका र २ जना परीक्षार्थी दृष्टिबिहिन रहेको शिक्षा तथा सामाजिक विकास निर्देशनालय लुम्बिनी प्रदेशका निर्देशक मनोज कुमार गैरेले जानकारी दिए । लुम्बिनी प्रदेशका १२ जिल्ला मध्ये सबै भन्दा धेरै परीक्षार्थी रुपन्देही जिल्लामा र सबै भन्दा कम परीक्षार्थी रुकूम पूर्वमा रहेको निर्देशक गैरेले बताए ।
यस्तै परीक्षा सञ्चालनका लागि ३ सय २७ केन्द्राध्यक्ष, ५ सय ७९ जना सहायक केन्द्राध्यक्ष, ४ हजार ३४५ जना निरीक्षक, ८ सय ६७ जना सहायक निरीक्षक र १ हजार ७१३ जना कार्यलय सहयोगि परीक्षामा खटिने निर्देशक गैरेले बताए ।
आजदेखि सुरु भएको परीक्षा वैशाख २० गते सकिने छ । बिहान ८ बजेदेखि सुरु भएको परीक्षा ११ बजे सकिने छ ।
सरकारले एसईईलाई केन्द्रको जिम्मेवारीबाट प्रदेशलाई हस्तान्तरण गरे पनि कानुन अभावमा यो वर्षको परीक्षा राष्ट्रिय परीक्षा बोर्डमार्फत् सञ्चालन हुन लागेको हो ।





















