गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आज परीक्षण उडान, पर्यटन मन्त्रीसहित २६० जना सहभागी हुने

खबरपथ संवाददाता
१५ बैशाख २०७९, बिहीबार ०८:२६

बुटवल । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आज परीक्षण उडान हुने भएको छ । बिहीबार नेपाल वायुसेवा निगमको विमानबाट परीक्षण उडान हुने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका प्रवक्ता देवचन्द लाल कर्णका अनुसार परीक्षण उडानका लागि नेपाल वायुसेवा निगमको विमान काठमाडौं विमानस्थलबाट बिहीबार दिउँसो ३ बजे भैरहवाका लागि उड्ने छ भने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणपछि साँझ ५ बजे काठमाडौं फर्किने छ ।

विमानमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेका साथै पर्यटन मन्त्रालयका सचिव, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक लगायत २६० जनाको टोली आउनेछन । उक्त टोलीले विमानस्थलको अवस्था, भन्सार, अध्यागमन, सुरक्षा लगायतका बारे जानकारी लिनेछ ।

परीक्षण उडानपछि अब अन्य मुलुकहरूले पनि चार्टड फ्लाईट गर्न सक्ने र व्यावसायिक उडानका लागि सूचना पठाउन सक्ने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्द प्रसाद दाहालले बताए ।

यो विमानस्थलबाट उडान भर्न सरकारले हवाई कम्पनीहरूलाई औपचारिक आग्रह गरिसकेको छ । विमानस्थलमा व्यावसायिक उडान गर्न ११ भन्दा बढी मुलुकका कम्पनीले चासो देखाएका छन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आगामी २ जेठमा बुद्ध पूर्णिमाका दिन व्यावसायिक अन्तर्राष्ट्रिय उडान गर्ने तयारी रहेकोछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*