तीन दशकदेखि बस्ती पहिरोको त्रासमा

खबरपथ संवाददाता
१५ असार २०७९, बुधबार २२:५५

लमजुङ । मर्स्याङ्दी गाउँपालिका ५ माथिल्लो चिप्लाका बासिन्दा तीन दशकदेखि पहिरोको त्रासमा दिन बिताउँदै आएका छन् । पहिरोले गाउँ च्याप्दै लगेपछि स्थानीय बसाइँ सर्न बाध्य बनेका छन् ।

अनुसन्धानकर्ता तथा विज्ञले उक्त गाउँ सार्न सिफारिस गरेपनि पुनर्स्थापनाको लागि कुनै कार्य नभएको स्थानीय कुमीरजंग गुरुङले बताए । उनले भने, पानी परेसँगै पहिरो जान सुरु गर्छ पानी पर्नासाथ गाउँले विस्थापित भएका छन्। गुरुङका अनुसार पहिरो झर्न थालेसँगै गाउँलेहरु बसाइँ सरेका छन् ।

पहिरोले बगाउन लागेपछि रामबहादुर गुरुङ घेर्मुफाँटमा बसाइँ सरेका छन्। सरकारबाट स्थानान्तरणको काम नभएपछि आफ्नै खर्चले घर बनाएको उनले बताए । बेलबहादुुर गुरुङ प्रोजु डाँडामा सरेका छन्। उनलाई बेलायतमा रहेका बाहुनडाँडा, ताघ्रिङ र घेर्मु (बाघेता) समाजले घर बनाउन सहयोग गरेको थियो। मनजित गुरुङ गाउँमाथिको क्रमुचेमा सरेका छन्  ।

पहिरोकै त्रासका कारण चिप्लाका सुबजंग गुरुङ, रामबहादुर गुरुङ, धनसुब्बा गुरुङ पनि क्रमुचे सरेका छन्। कामराम गुरुङ बेंसी झरेका छन्। माथिल्लो गाउँका श्रीप्रसाद गुरुङ, प्रेमबहादुर गुरुङ, मनराम गुरुङ, कुमेर गुरुङ लगायत घर बनाउने तयारीमा छन्। स्थानीय आइतसरी गुरुङका अनुसार पहिरोले घर लाने समस्या भएपछि डराइडराई बस्नुपरेको छ। ‘जाने ठाउँ नभएका स्थानीय पहिरोकै त्रासमा यहीं बस्न बाध्य छन्। पानी पर्न थालेदेखि डराउनुपर्छ’, उनले भनिन्, ‘यो पहिलेदेखिकै समस्या हो।

पहिरो घरभन्दा १०/१५ मिटर टाढा छ । ‘ठाउँ भिरालो छ । घरदेखि पहिरोसम्मका ठाउँठाउँमा चिरिएका छन् ’, स्थानीय दयराम गुरुङले भने । उनका अनुसार १२ वैशाख २०७२ को भूकम्पले हल्लाए पछि पहिरोको जोखिम झनै बढेको छ ।

उक्त पहिरोको दुई वर्षअघि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट खटिएका भू-संरक्षण तथा जलाधार व्यवस्थापन विज्ञ, भूगर्भविद् जलउत्पन्न प्रकोप व्यवस्थापन विज्ञको टोलीले अध्ययन गरेको थियो। यसअघि दैवीप्रकोप उद्धार समितिमार्फत गएको टोली, मन्त्रालयबाटै आएको टोली, जिल्लाकै भूसंरक्षण कार्यालयका टोली लगायतले धेरैपटक अध्ययन गरी बस्ती सार्न सिफारिस गरेर सरकारलाई सुझाव दिएका छन्। तर, यसबारे सरकारले कुनै निर्णय गरेको छैन।

स्थानीय कामराम गुरुङले सरकारी तवरबाट अध्ययन अनुसन्धान भएपनि कुनै सहयोग नभएको बताए । स्थानीयले १० वर्षदेखि गाउँ सारिदिन सरकारसँग माग गरिरहेका स्थानीय भक्तबहादुर गुरुङले बताए । कुल ८५ घरधुरी रहेको चिप्लामा पहिरो बढ्दै गएपछि बसाइँ सरेर जानेको सङ्ख्या बढ्दो छ । अहिले सिङ्गो गाउँमा ४१ घरमात्र बाँकी छ । स्थानीयका अनुसार पहिरोले गाउँलेको ११ सय हेक्टर जग्गा बगाएको र सामुदायिक वन समेत विनाश गरेको छ । २२ सय हेक्टरभन्दा बढी पहिरो फैलिएको स्थानीयले बनाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*