पाल्पा बस दुर्घटनाका मृतकको सनाखत

खबरपथ संवाददाता
९ श्रावण २०७९, सोमबार १३:३६

बुटवल । पाल्पामा आइतबार भएको बस दुर्घटनामा परेर मृत्यु भएकाहरू सबैको सनाखत भएको छ।

बागलुङको बुर्तिवाङबाट रुपन्देहीको बुटवललाई छुटेको लु १ ख ५९५२ नम्बरको बस पाल्पाको रिव्दीकोट गाउँपालिका वडा नम्बर २ लघुवामा दुर्घटनामा परेको थियो।

दुर्घटनामा परी ६ जनाको घटनास्थलमा मृत्यु भएको थियो भने १६ जना घाइते भएका थिए। मृत्यु हुनेहरूमा गुल्मी चन्द्रकोट गाउँपालिका वडा नम्बर ८ का १५ वर्षीय प्रवेश काफ्ले, गुल्मी मुसिकोट नगरपालिका ७ का ४० बर्षीय लाल बहादुर राना कुमाल, रुपन्देही देवदह नगरपालिका ७ की ८७ बर्षीया डिलसरी कामी, कपिलबस्तु बाणगंगा नगरपालिका २ का ४५ बर्षीय यज्ञबहादुर सोमै, नवलपरासी बर्दघाट नगरपालिका ५ की २४ बर्षीया पूर्णिमा कामी र बागलुङ बडिगाड गाउँपालिका १० की ५५ बर्षीया यमकली थापा रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका डिएसपी एवं सूचना अधिकारी वीरेन्द्र थापाले बताए।

दुर्घटनामा परी घाइते भई तानसेनको मिसन अस्पतालमा उपचारत १६ जनामध्ये ८ जना घर फर्किएका छन् भने ८ जनाको उपचार भइरहेको छ।

अस्पतालमा उपचारत घाइतेहरू बसचालक रूपन्देही कञ्चन गाउँपालिका वडा ५ का ३३ वर्षीय किशन श्रीस, गुल्मी चन्द्रकोटका ३१ वर्षीय चन्द्रबहादुर कामी, कपिलबस्तु वाणगंगा नगरपालिका वडा २ का ४२ बर्षीय पिताम्वर रेग्मी, बागलुङ पाटन नगरपालिका १ का ३० वर्षीय टेकलाल रसाइली, रौतहट वीरेन्द्रवन गाउँपालिका वडा नम्बर ७ का २८ वर्षीय संजय कुमार ठाकुर, म्याग्दी रुमा गाउँपालिका वडा ४ की ३९ वर्षीय सुमित्रा रोका, सोही ठाउँकै ४ वर्षीय विश्वास रोका र रुपन्देही देवदह नगरपालिका ७ का खड्कबहादुर विक रहेका छन्।

म्याग्दीकी सुमित्रा र देवदहका खड्कको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। अन्यको टाउको, ढाड, मुख, हात खुट्टामा चोटपटक लागेको छ।

आइतबार अपरान्ह साढे ४ बजे सडकबाट करीव १ सय मिटर तल बस खसेको थियो। सडकको डिल भासिएर बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*