कोभिड महामारी पूर्णरुपमा नियन्त्रण गर्नुपर्छ : प्रधानमन्त्री देउवा
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड महामारी पूर्णरुपमा नियन्त्रण गर्नुपर्ने आवश्यकता रहेको बताउनु भएको छ । केही सयमयता मत्थर हुँदै गएको कोभिड महामारी पुनः विस्तार हुँदै जाने खतरा देखिएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले त्यसलाई पूर्ण रुपमा नियन्त्रण गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
वीर अस्पतालको १३३ औं वार्षिकोत्सवको अवसर पारेर बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले भविष्यमा आउन सक्ने विभिन्न महामारीहरुको नियन्त्रणका लागि सरकारले आफ्नो सामथ्र्यको विकास गर्नुपर्ने बताउनुभयो ।
प्रधानमन्त्री देउवाले क्यान्सरजस्ता घातक र नसर्ने रोगहरुको समयमै उपचार हुने व्यवस्था मिलाउन स्वास्थ्य संस्थाहरुले ध्यान दिनुपर्ने बताउनु भयो । ‘भविष्यमा प्रमुख स्वास्थ्य समस्या भनेको सर्ने भन्दा पनि नसर्ने रोगहरु छन् भन्ने विश्व स्वास्थ्य संगठनले पूर्व अनुमान गरेको छ’ प्रधानमन्त्री देउवाले भन्नुभयो , ‘हामीेले पनि नसर्ने रोगका विरामीहरुलाई सहज उपचारका लागि क्षमता विकास गर्दै जानुपर्ने आवश्यकता छ ।’
प्रधानमन्त्री देउवाले सर्वसाधारण नागरिकलाई स्वास्थ्य सेवा सर्वसुलभ ढंगले उपलब्ध गराउन सरकार कटिवद्ध रहेको पनि बताउनु भयो ।




















