मेरा धारणा समीक्षागत निष्कर्ष हो, भावना र आवेग होइन – प्रधानमन्त्री

खबरपथ संवाददाता
२९ असार २०८१, शुक्रबार १८:३२

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले विश्वासको मत माग्ने क्रममा राखेको धारणा आवेग र भावना नभइ समीक्षागत निष्कर्ष भएको स्पष्ट पारेका छन् ।

प्रतिनिधिसभाबाट आज विश्वासको मत लिने क्रममा राजनीतिक दलका नेताहरूले राखेका आ–आफ्ना धारणामा स्पष्ट पार्दै प्रधानमन्त्री प्रचण्डले विश्वासको मतका क्रममा भएका विचारविमर्श भने राम्रो भएको बताएका छन् ।

“कुनै पनि मान्यसदस्यहरूलाई ‘कन्फ्युजन’ नहोस्, मैले आज आक्रोश र भावना राखेको होइन,” प्रधानमन्त्रीले भने, “मैले आफ्नो दल र पार्टीको चिन्ता गम्भीरताका साथ राखेँ, यो कुनै आवेग होइन, भावना पनि होइन ।”

आफूले राखेको प्रस्ताव अनुभवको निष्कर्ष भएको स्पष्ट पार्दै प्रधानमन्त्री प्रचण्डले देशलाई कता लैजाने भन्ने निर्णय गर्ने मुख्य थलो प्रतिनिधिसभा नै भएको बताए । उनले आफू नेतृत्वको सरकारले सुशासन, सामाजिक न्याय, समृद्धि र अन्तर्राष्ट्रिय सम्बन्धहरू विकसित गर्ने प्रयास गरेको स्पष्ट पारे ।

प्रधानमन्त्री प्रचण्डले भने, “मैले विश्वासको मत माग्दा राखेका धारणा सोचेसम्झेअनुसारका निष्कर्ष हुन् ।” उनले विभिन्न दलका तर्फबाट प्रस्तुत भएका धारणाप्रति धन्यावाद व्यक्त गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*