किसान र राजनीति

महेन्द्र गौतम (युवा व्यवसायी तथा उद्यमि)
११ माघ २०८१, शुक्रबार २०:२४

सामान्य रुपले किसान भन्दा कृषि कर्म गर्ने व्यक्ति भन्ने बुझिन्छ । कृषि कर्म गर्ने ती संघर्षका हातहरु जसले हिउँद / बर्षा, झरी / टन्टलापुरे घाम, जाडो / अँध्यारो केही नभनी निरन्तर खनजोत, खेती लगाउने, स्याहार्ने गर्दै बल्ल बीउबाट अन्न निकाल्न सक्छन् । ती किसान, ती पौरखी नै भगवानरुपी मानव हुन भन्न सकिन्छ।  किसानले आफूले उपभोग गर्ने परिमाणमा मात्र कृषि उपज उत्पादन गरिरहेको हुँदैन उसले पृथ्वीका अन्य मानवका लागि समेत उत्पादन गरिरहेका हुन्छन्।
किसान शब्दले कुटो कोदालो गर्ने एक निम्न बर्गको व्यक्तिलाई चित्रण गरेको हामीलाई सानै उमेरबाट सिकाईयो भने, सानो उमेरमा केही गल्ती गरेको बेला अथवा राम्रोसँग नपढ्दाको समयमा गाली गर्दा समेत पढ् राम्रोसँग नत्र हली बन्लास भन्दै नपढेको व्यक्तिले कृषि कर्म गर्नुपर्ने रहेछ भन्ने अनुभूति गराईयो ।
पछिल्लो समयमा नव युवाहरु कृषि कर्ममा जोडिदै हिजोको किसान शब्दको प्रतिबिम्बित भनाईलाई गलत सावित गरिदिएका छन्। हिजोको दिनमा केही गर्न नसक्नेले खेती गर्छ, किसान बन्छ भन्ने भाष्यलाई आज फरक तरिकाले गर्ने जमर्को गर्ने हो भने किसान कृषि उद्यमी बन्न सक्छन् भन्ने मान्यता स्थापित भएको छ।

आज कृषि क्षेत्र व्यवसायिक हुँदै गएता पनि कृषिको नाममा ऋण प्रवाह गराई अन्य क्षेत्रमा लगानी गर्ने, कृषिका नाममा सरकारी अनुदान प्राप्त गरि जुन कामको लागि अनुदान लिएको हो सो कर्म नै वास्तविक नहुने,  झोलामा मात्र फर्म सञ्चालन गरि चाकडीको भरमा थुप्रै आर्थिक चलखेल हुने समेत गरेको भेटिन्छन् भने किसानलाई सकृय हुन नदिनका लागी दलगत भातृ संस्था जस्तै किसानका संघ, युनीयन, महासंघ गठन गराई सत्ता पक्षीय राजनैतीक दलको स्वार्थ अनुरुपका नेतृत्व निर्माण गरि वास्तविक किसानका पिर, व्यथा,  समस्या र गुनासाहरुलाई दबाउँदै स्वार्थपूर्तिका लागि मात्र हिड्ने गरेको पाईन्छ।

राजनीति भित्र कृषि र किसानका एजेण्डा घुस्नु पर्ने ठाउँमा कृषि भित्र दलीय राजनीति र दल भित्रका गुट अनि उपगुटका ताउर माउर घुसाएर किसानलाई बिभाजित गर्नका लागि हरेक राजनीतिक दल र तिनका नेतृत्व लागि परेका छन् भने कतिपय ठाउँमा किसानको ठाउँमा जसले बर्षमा १ दिन धानदिवसमा खेतमा छिर्छ अनि अरु समय बिशुद्ध राजनीति र चाकडि गर्छ उनैलाई  किसानको नेतृत्व दिई  उनैको फूर्ति बढाउने काम मात्र भएको देखिन्छ। किनकी राजनीतिक दलका नेतृत्वलाई राम्रोसँग  थाहा छ किसान एकजुट भए भने एउटै समस्या भएकाहरु एकै ठाउँ भए भने किसान माथी राजनीति गर्नेहरुका राजनैतिक सटर नै बन्द हुन्छन् ।

धेरैलाई हजम नहोला तर साँच्चै नै कृषि क्षेत्रको विकास गर्ने हो भने कृषि संग सम्वन्धित तथाकथित महासंघहरुको विघटन गरिनुपर्छ र वस्तुगत संघहरुलाई चलायमान बनाउनु पर्छ । किसान संघ महासंघका राजनीति गर्ने ब्यक्ति वास्तविक किसान छैनन्। उनीहरु वास्तविक किसानका समस्या देखाउनु भन्दा पनि म संग यति किसान छन्  मलाई के सुविधा हुन्छ अथवा मेरो नेतृत्वमा समिति बन्छ बन्दैन भन्ने पैरवीमा लागेको पाईन्छ। पूर्णकालिन अथवा व्यवसायिक कृषक नै नभएको व्यक्तिले किसानका समस्या कति बुझ्लान यो सोँचनीय बिषय रहेको छ। कृषिसंग सम्वन्धित महासंघका पदाधिकारी हौं भन्नेहरु किसानको नेता कम अनुदानका व्यापारी र दलालका संरक्षक बढी भए ।
आज कृषि कर्म गर्ने किसानले उत्पादन गरेको उत्पादित सामाग्रीको मूल्य किसानले निर्धारण गर्न पाएको हुँदैन, उसलाई थाहा हुँदैन उसले गरेको उत्पादनले उत्पादन लागत सम्म प्राप्त गर्न धान्न सक्छ वा सक्दैन व्याज, मुनाफा त आउँछ भन्ने कुरा कल्पना भन्दा पनि बाहिरको सोँचको कुरा हुन आउँछ त्यसैले जब सम्म किसानले उत्पादन गरेको कृषि उपजको मूल्य किसान स्वयंले निर्धारण गर्न पाउँदैन अनि उत्पादन भएका सामाग्री स्वतन्त्र रुपले बिक्रीवितरण गर्न पाउँदैन तबसम्म किसान सक्षम हुन सक्दैन अनि सक्षम किसान नभै मुलुक संवृद्ध बन्न सक्दैन । किसान संवृद्ध बनाउनका लागि तीन वटै तहका सरकारले किसानमुखी बजेट तर्जुमा गरि दलका कार्यकर्ता नभै वास्तविक किसानलाई आवश्यक सामाग्री बीउ बिजन उपकरण उपलब्ध गराई सबल सरकारको पहिचान दिनुपर्छ ।

अति भो अब सोचौं र एक भएर निर्णय गरौं ।
जागौँ किसान साथीहरू किसानको नेतृत्व यहाँ व्यापारीले गर्दै छन्
जय किसान।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*