शान्ति दुर्गा मन्दिरमा अन्तरविद्यालय धार्मिक हाजिरीजवाफ प्रतियोगिता हुँदै
तिलोत्तमा । तिलोत्तमा नगरपालिका–६ स्थित श्री शान्ति दुर्गा मन्दिरले विद्यालयस्तरका विद्यार्थीहरूमा सनातन धर्म तथा संस्कृतिप्रति जागरूकता बढाउने उद्देश्यले अन्तरविद्यालय धार्मिक हाजिरीजवाफ प्रतियोगिता आयोजना गर्ने भएको छ।
धार्मिक तथा सामाजिक गतिविधिमा निरन्तर सक्रिय रहँदै आएको मन्दिरले यो वर्ष पनि उक्त प्रतियोगितालाई निरन्तरता दिन लागेको हो। मन्दिरका कार्यक्रम संयोजक शोभाकर भण्डारीका अनुसार प्रतियोगिता आगामी जेठ २३ गते शुक्रबार मन्दिर परिसरमै आयोजना हुनेछ।
कार्यक्रम बिहान १०:३० बजे सुरु हुने छ भने सहभागिता तिलोत्तमा नगरभित्रका सबै सामुदायिक तथा संस्थागत माध्यमिक विद्यालयका विद्यार्थीहरूका लागि खुला गरिएको छ। विशेषगरी कक्षा ८, ९ र १० मा अध्ययनरत संस्कृत विषयबाहेकका विद्यार्थीहरू प्रतियोगितामा सहभागी हुन सक्नेछन्।
प्रत्येक विद्यालयबाट एक अनिवार्य छात्रासहित तीन जना विद्यार्थी तथा कम्तीमा एक जना शिक्षक प्रतिनिधि अनिवार्यरूपमा उपस्थित गराउनु पर्ने आयोजक पक्षले जानकारी दिएको छ।
मूल धर्म, संस्कृति तथा ज्ञानको प्रवर्द्धनमा टेवा पुगोस् भन्ने उद्देश्यले आयोजना गरिँदै आएको उक्त प्रतियोगिता तिलोत्तमा नगरको शैक्षिक तथा धार्मिक क्षेत्रलाई सशक्त बनाउन महत्वपूर्ण हुने विश्वास आयोजकको छ।






















