चालु आ.व.मा नेपालको आर्थिक वृद्धि ३.८५ प्रतिशत हुने
काठमाण्डौ । आर्थिक वर्ष २०८२/०८३ मा नेपालको आर्थिक वृद्धि ३.८५ प्रतिशत हुने प्रक्षेपण गरिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले मंगलवार प्रतिवेदन सार्वजनिक गर्दै यस्तो प्रक्षेपण गरेको हो । कार्यालयकाअनुसार चालु आवमा देशको अर्थतन्त्रको आकार ६६ खर्बको हुने प्रक्षेपण रहेको प्रमुख तथ्याङ्क अधिकारी डा. कमलप्रसाद पोख्रेलले जानकारी दिनुभयो । अर्थ मन्त्रालयले सोमवार नेपालको वर्तमान आर्थिक स्थितिपत्रमार्फत आर्थिक वर्ष २०८२/८३ मा देशको आर्थिक वृद्धि ३.५ प्रतिशतले विस्तार हुने प्रक्षेपण गरेको थियो । प्रमुख तथ्यांक अधिकारी पोखरेलका अनुसार आर्थिक वर्ष २०८२/८३ का लागि औद्योगिक वर्गीकरणअनुसार विभिन्न क्षेत्रहरूको कुल मूल्य अभिवृद्धिमा योगदान र वृद्धिदर समेत सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको विवरणअनुसार कृषि, वन तथा मत्स्य क्षेत्रले सबैभन्दा बढी २४.०३ प्रतिशत योगदान दिएको छ । यसको वृद्धि दर भने १.५८ प्रतिशत रहेको छ ।




















