सुनको मूल्य तोलाको २ लाख ९८ हजार ५ सय रुपैयाँ पुग्यो
काठमाडौं । नेपाली सुन बजारमा मूल्यवृद्धिको लहर जारी रहँदा मंगलबार पनि सुनको भाउ नयाँ उचाइतर्फ उक्लिएको छ। पछिल्ला केही दिनयता निरन्तर बढिरहेको सुनको मूल्य आज थप ३ सय रुपैयाँले वृद्धि भएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९८ हजार ५ सय रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबार दिन सुनको मूल्य २ लाख ९८ हजार २ सय रुपैयाँ रहेको थियो।
पछिल्ला दिनहरूमा सुनको बजारमा उल्लेखनीय वृद्धि देखिएको छ। आइतबार प्रतितोला १ हजार २ सय रुपैयाँले बढेको सुन सोमबार मात्रै ५ हजार रुपैयाँले उकालो लागेको थियो। त्यसको निरन्तरतास्वरूप आज पनि मूल्य वृद्धि कायम रहँदा सुन झण्डै ३ लाख रुपैयाँको नजिक पुगेको छ।
यता चाँदीको मूल्य भने सुनको विपरीत दिशामा गएको छ। महासंघका अनुसार चाँदीको भाउ आज प्रतितोला २५ रुपैयाँले घटेर ४ हजार ९९० रुपैयाँमा झरेको छ। सोमबार चाँदीको मूल्य १७५ रुपैयाँले बढेर ५ हजार १५ रुपैयाँ पुगेको थियो।
नेपाली बजारमा सुनले यस वर्षको माघ १५ गते ऐतिहासिक रेकर्ड कायम गरेको थियो। उक्त दिन प्रतितोला २० हजार ५ सय रुपैयाँले मूल्य बढ्दै सुन ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो। त्यस्तै, चाँदीले पनि सोही दिन ७ हजार ५०५ रुपैयाँ प्रतितोलाको उच्चतम मूल्य छोएको थियो।




















