रुपन्देही उद्योग संघमा अध्यक्षीय परिषद् गठन, संयोजकमा तेजकुमार पाठक

खबरपथ संवाददाता
१ असार २०८३, सोमबार २०:३६

संघका अध्यक्ष कृष्ण प्रसाद पराजुलीको अध्यक्षतामा सम्पन्न भेलाले संघको दीर्घकालीन मार्गदर्शन र संस्थागत सुदृढीकरणका लागि परिषद् गठन गरेको हो ।
भेलामा बोल्नुहुँदै संघका अध्यक्ष कृष्ण प्रसाद पराजुलीले बदलिँदो आर्थिक तथा औद्योगिक परिस्थिति अनुसार संघका गतिविधि र कार्यक्रमहरूलाई समयानुकूल परिमार्जन गर्दै अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याउनु भयो । वहाँले हालको कार्यसमितिले करिब ६ महिनामा सम्पन्न गरेका महत्वपूर्ण कार्यक्रमहरूको समेत जानकारी गराउनुभयो ।
नवगठित अध्यक्षीय परिषद सदस्यहरुमा संस्थापकअध्यक्ष रणबहादुर शाह, पूर्व अध्यक्षहरू पी.एल. श्रेष्ठ, वेनुराम प्रधान, श्यामबहादुर पाठक, महेन्द्रनारायण श्रेष्ठ, एजाज आलम, वोनिन पिया, दिनेशराज रेग्मी, गणेश प्रसाद अधिकारी, बाबुराम बोहोरा, माधव प्रसाद पौडेल तथा निवर्तमान अध्यक्ष दिलीप सापकोटा रहनु भएको छ। साथै संघका वर्तमान अध्यक्ष कृष्ण प्रसाद पराजुली परिषदको सदस्य–सचिव रहने व्यवस्था गरिएको छ ।
नवगठित परिषद्का संयोजक तेजकुमार पाठकले संघका सम्पूर्ण गतिविधि, विद्यमान समस्या तथा चुनौतीहरूलाई समाधान गर्न पूर्व अध्यक्षहरूको साझा भूमिका मार्फत एकताबद्ध, समन्वयात्मक र सशक्त रूपमा अघि बढ्ने दृढ प्रतिबद्धता व्यक्त गर्नुभयो । वहाँले संघको समग्र विकास, उद्योगी–व्यवसायीहरूको हित संरक्षण तथा संस्थागत सुदृढीकरणका लागि परिषद् निरन्तर सक्रिय, जिम्मेवार र परिणाममुखी भूमिकामा रहने बताउनुभयो ।
भेलामा सहभागी पूर्व अध्यक्षहरूले पनि संघको ऐतिहासिक गौरव र उद्देश्यलाई आत्मसात गर्दै समसामयिक चुनौतीहरूको सामना गर्न एकता आवश्यक रहेकोमा जोड दिनुभएको थियो ।  पूर्व अध्यक्ष पी.एल. श्रेष्ठले संघको स्थापना उद्देश्य अनुसार गतिविधि अघि बढाउन सुझाव दिनुभयो । महेन्द्र नारायण श्रेष्ठले संस्थाको गरिमा कायम राख्न पूर्व अध्यक्ष र वर्तमान कार्यसमितिको सहकार्य अपरिहार्य रहेको बताउनुभयो भने दिनेशराज रेग्मीले उद्योग क्षेत्रले भोगिरहेको निराशाजनक अवस्थालाई मिलेर सामना गर्नुपर्ने धारणा राख्नुभयो । पूर्व अध्यक्ष वोनिन पियाले संघको गौरवपूर्ण इतिहास संरक्षण गर्दै उद्योगीहरूको वर्तमान आवश्यकता र अपेक्षालाई सम्बोधन गर्न नेतृत्वले अझ सक्रिय भूमिका खेल्नुपर्ने सुझाव दिनुभयो ।
भेलामा पूर्व अध्यक्ष गणेश प्रसाद अधिकारीले संघको संस्थागत गरिमा कायम राख्दै उद्योगी–व्यवसायीका समस्या समाधानका लागि एकताबद्ध रूपमा अघि बढ्नुपर्ने बताउनुभयो । त्यसैगरी पूर्व अध्यक्ष बाबुराम बोहोराले उद्योग क्षेत्रको विकास र उद्योगीहरूको हित संरक्षणका लागि साझा प्रयास र सहकार्य अपरिहार्य रहेको बताउनुभयो ।
भेलामा वोल्नुहुँदै संघका सल्लाहकार समितिका संयोजक तथा पूर्व अध्यक्ष माधव प्रसाद पौडेलले उद्योग र उद्योगीका समस्या पहिचान गरी समाधानका लागि संघ निरन्तर सक्रिय रहनुपर्नेमा जोड दिनुभयो । निवर्तमान अध्यक्ष दिलीप सापकोटाले हालको औद्योगिक वातावरणमा देखिएको चुनौती र त्यसको असर अर्थतन्त्रमा परेको उल्लेख गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आएको जानकारी दिनुभयो ।
भेलामा संघका वरिष्ठ उपाध्यक्ष जिवकान्त काफ्ले, प्रथम उपाध्यक्ष हरि बहादुर खत्री, द्वितीय उपाध्यक्ष युवराज आचार्य, महासचिव सुमन बस्याल, कोषाध्यक्ष विशाल बेल्बासे, सचिव अशोक कुवँर, महिला सचिव मञ्जु भुसाल ,सचिवालय सदस्य शारदा भट्टराई तथा प्रमुख कार्यकारी अधिकृत यादव प्रसाद भण्डारील गायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*