रौतहटमा दुर्लभ घटना : दुई टाउको र दुई मुख भएको पाडो जन्मियाे

सञ्जय मिश्रा
२१ जेष्ठ २०८३, बिहीबार १३:२२

रौतहट । रौतहटको गरुडा नगरपालिका–७ पिपरिया दोस्तिया गाउँमा एक अत्यन्तै दुर्लभ र अनौठो घटना सार्वजनिक भएको छ।

स्थानिय श्रीनारायण यादवको भैंसीले बुधवार दुईवटा टाउको र दुईवटा मुख भएको पाडो जन्माएको स्थानीय समाजसेवी चन्देश्वर यादवले बताएका छन्।

यो असामान्य जन्मसँगै गाउँभरि कौतुहलता र आश्चर्य फैलिएको छ। घटना सार्वजनिक हुना साथ पाडोलाई हेर्न ठूलो संख्यामा स्थानीयवासीहरूको भीड लागेको छ। धेरैले यसलाई “प्रकृतिको दुर्लभ चमत्कार” का रूपमा व्याख्या गरिरहेका छन् भने कतिपयले यस्तो अवस्थाबारे जिज्ञासा व्यक्त गरेका छन्।

जिल्ला पशु सेवा कार्यालयका चिकित्सकहरूका अनुसार यस्ता जन्मजात विकृति (congenital anomaly) अत्यन्तै दुर्लभ हुने गर्छन्। प्रारम्भिक रूपमा गर्भावस्थामा भ्रूण विभाजन असामान्य हुनु, आनुवांशिक गडबडी वा विकासक्रममा आएको अवरोधका कारण यस्तो अवस्था देखिन सक्ने उनीहरूको भनाइ छ। यद्यपि, यकिन कारण पत्ता लगाउन विस्तृत परीक्षण आवश्यक हुने बताइएको छ।

चिकित्सकीय दृष्टिले यस्ता अवस्थामा अधिकांश नवजात पशुको बाँच्ने सम्भावना कमजोर हुने भए पनि हाल पाडोको वास्तविक स्वास्थ्य अवस्था र दीर्घजीवन सम्भावनाबारे थप विवरण आउन बाँकी छ। झण्डै २४ घन्टा अघी जन्मिएको पाडी को दुई छुट्टाछुट्टै टाउको, मुख आँखा रहेको र हालसम्म स्वास्थ्य अवस्था सामान्य रहेको स्थानीय शिक्षक सुरेन्द्र ठाकुरले जानकारी दिएका छन्।

यसैबीच, गाउँमा उक्त घटनालाई लिएर विभिन्न चर्चा–परिचर्चा चलिरहेको छ। केहीले यसलाई दुर्लभ जैविक घटना मानेका छन् भने केहीले धार्मिक वा लोकविश्वाससँग जोडेर हेर्न थालेका छन्।।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*