कुशलको कीर्तिमानी शतकमा मलेसियालाई विशाल लक्ष्य
काठमाडौं । नेपालले एसियन गेम्स पुरुष क्रिकेटको छनोट प्रतियोगितामा मलेसियालाई २७५ रनको विशाल लक्ष्य दिएको छ ।
ओपनर कुशल भुर्तेलको कीर्तिमानी शतकको सहयोगमा नेपालले विशाल लक्ष्य मलेसिया सामु प्रस्तुत गरेको हो ।
सिंगापुरमा जारी खेलमा पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २७५ रनको विशाल योगफल तयार पार्न सफल भएको हो ।
ओपनर कुशलले ५४ बलमा १४ चौका र ८ छक्काको सहयोगमा सर्वाधिक १२६ रनको शतकीय इनिङ पार गरेका थिए । कुशलको ट्वान्टी २० अन्तर्राष्ट्रियमा यो लगातार दोस्रो शतक हो । यो सफलता प्राप्त गर्ने उनी पहिलो नेपाली क्रिकेटरसमेत हुन् ।
उनले आफ्नो ट्वान्टी अन्तर्राष्ट्रिय करियरको तेस्रो शतक ४४ बलमा पूरा गरेका थिए । त्यस्तै, अर्का ओपनर आसिफ शेखले २४ बलमा ५ चौका र ७ छक्काको सहयोगमा ६८ रनको इनिङ खेलेका थिए भने पहिलो विकेटका लागि आसिफ र कुशलले १३४ रनको साझेदारी गरेका थिए ।
कप्तान दीपेन्द्रसिंह ऐरीले ११ बलमा १ चौका र ४ छक्काको सहयोगमा ३१ रन बनाउन सफल हुदाँ सन्दीप जोराले १४ बलमा १५ तथा लोकेश बमले ६ बलमा १० रन जोडेका थिए ।
मलेसियाका लागि विरनदिप सिंहले ३ तथा विजय उन्नी र सइद अजिजले समान २ विकेट लिए सँगै नेपालले मलेसिया सामु बिशाल लक्ष्य प्रस्तुत गरेको हो ।




















