ओपीडी सेवा सहज बनाउन टिचिङ अस्पताललाई महानगरको १ करोड ७० लाखको सहयोग

खबरपथ संवाददाता
२२ जेष्ठ २०८३, शुक्रबार १०:१८

काठमाडौं । काठमाडौँ महानगरपालिकाले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) महाराजगञ्जको ओपीडी सेवालाई थप प्रविधिमैत्री बनाउन करिब १ करोड ७० लाख रुपैयाँ बराबरका आधुनिक उपकरण तथा सूचना प्रविधि प्रणाली हस्तान्तरण गरेको छ। कार्यवाहक प्रमुख सुनिता डंगोलले अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. सुवास आचार्यलाई १६ वटा इन्टरएक्टिभ किओस्क मेसिन र ६५ वटा ‘अल–इन–वन’ कम्प्युटर हस्तान्तरण गरेकी हुन्।

उक्त उपकरणमार्फत बिरामीले शुल्क भुक्तानी, रिपोर्ट प्रिन्ट तथा उपचारसम्बन्धी जानकारी सहज रूपमा प्राप्त गर्न सक्नेछन्। साथै, अस्पतालको सर्भर र र्याम क्षमता विस्तार गरी स्वास्थ्य अभिलेख व्यवस्थापनलाई थप प्रभावकारी बनाइएको छ।

कार्यवाहक प्रमुख डंगोलले डिजिटल स्वास्थ्य सेवामार्फत नागरिकलाई छिटो, सहज र पारदर्शी सेवा उपलब्ध गराउने लक्ष्य रहेको बताइन्। अस्पतालका कार्यकारी निर्देशक आचार्यले यस सहयोगले ओपीडी व्यवस्थापनमा सुधार ल्याउने र भविष्यमा क्यान्सर उपचारलगायतका सेवा ‘पेपरलेस’ तथा ‘फेसलेस’ बनाउन सहयोग पुग्ने उल्लेख गरे। महानगरले यसअघि पनि कोभिड–१९ नियन्त्रणका लागि विभिन्न स्वास्थ्य उपकरण उपलब्ध गराएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*