अफ्रिकी मुलुक मालीले लगायो मोटरसाईकल चलाउन प्रतिबन्ध

खबरपथ संवाददाता
२२ जेष्ठ २०८३, शुक्रबार १२:०७

बामाको  । पश्चिम अफ्रिकी देश मालिले आफ्ना प्रमुख शहरहरू बाहिर मोटरसाइकलको प्रयोगमा प्रतिबन्ध लगाएको छ।

तपाईंलाई लाग्न सक्छ कि सरकारले किन यस्तो निर्णय गरेको होला ? विश्वको सबैभन्दा गरिब र कम विकसित देशहरू मध्ये एक माली बढ्दो जिहादी विद्रोहको सामना गरिरहेको छ। फलस्वरूप, सरकारले यो असामान्य निर्णय लिएको हो। सरकारले गत जुन ३ देखी यो आदेश जारी गरेको हो।

मालीमा जिहादी समूहहरूले बारम्बार मोटरसाइकल प्रयोग गर्ने भएकाले यो प्रतिबन्ध लगाइएको हो। सो देशले हाल गम्भीर सुरक्षा संकटको सामना गरिरहेको छ, जिहादीहरूले राजधानी बामाकोलाई घेरेर सडकहरू अवरुद्ध गरेका छन्। बुधबार साँझ मालीको राष्ट्रिय टेलिभिजनमा पढिएको आदेशमा प्रमुख शहरहरू बाहिर देशभर १२५ सीसी र सोभन्दा माथिको इन्जिन क्षमता भएका मोटरसाइकलहरू प्रतिबन्धित गरिएको उल्लेख गरिएको थियो ।

यद्यपि, आदेशमा केही छुटहरू समावेश छन्। यो प्रतिबन्ध क्षेत्रीय राजधानी बामाको र केही अन्य शहरी क्षेत्रहरूमा भने लागू हुनेछैन। अधिकारीहरूले १२५ सीसी वा सोभन्दा ठूला इन्जिन भएका मोटरसाइकलहरूको आयात, ढुवानी, बिक्री र निःशुल्क वितरण देशभर निषेध गरिएको घोषणा गरेका छन्, साथै तिनीहरूका पार्टपुर्जाहरू ल्याउन पनि प्रतिबन्ध लगाइएको छ।

मालीमा सुरक्षा संकट हाल गहिरिँदै गइरहेको छ, अप्रिल २५ र २६ मा अल कायदासँग सम्बन्धित जिहादी समूहहरू र तुआरेग पृथकतावादीहरूले ठूला, समन्वित आक्रमणहरू गरेका थिए । र, अप्रिल ३० देखि जिहादीहरूले बामाको जाने धेरै प्रमुख सडकहरू अवरुद्ध गरेर दर्जनौं बस र कार्गो ट्रकहरू जलाइ दिएका छन्।

सशस्त्र समूहहरूले रणनीतिक शहर किडाल सहित देशको उत्तरमा धेरै क्षेत्रहरूको नियन्त्रण कब्जा गरेका छन्। यसलाई २०२० मा सत्तामा आएको सैन्य सरकारको लागि ठूलो धक्काको रूपमा हेरिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*