परराष्ट्र मन्त्री शिशिर खनाल आज भारत जाँदै
काठमाडौं । परराष्ट्र मन्त्री शिशिर खनाल आज भारतको औपचारिक भ्रमणमा जाँदैछन् ।
परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्तिमार्फत भ्रमणसम्बन्धी कार्यक्रम सार्वजनिक गर्दै मन्त्री खनालको तीन दिने भारत भ्रमण तय भएको जानकारी दिएको हो ।
मन्त्रालयका अनुसार भारतीय विदेश मन्त्री डा. एस जयशंकरको निमन्त्रणामा परराष्ट्र मन्त्री खनाल जेठ २२ देखि २४ गतेसम्म भारतमा रहनेछन्।
भ्रमणका क्रममा नयाँ दिल्लीमा नेपाल र भारतका परराष्ट्र मन्त्रीबीच औपचारिक द्विपक्षीय भेटवार्ता हुने कार्यक्रम छ। वार्तामा दुई देशबीचको साझा चासो र पारस्परिक हितसँग सम्बन्धित विविध विषयमा छलफल हुने जनाइएको छ।
विशेष गरी व्यापार, लगानी, ऊर्जा सहकार्य, यातायात तथा सम्पर्क सञ्जाल विस्तार र दुई देशका नागरिकबीचको सम्बन्धलाई थप सुदृढ बनाउने विषय बैठकको प्रमुख एजेन्डामा रहनेछ।
परराष्ट्र मन्त्रालयले यस भ्रमणलाई नेपाल।भारतबीच नियमित रूपमा हुने उच्चस्तरीय संवादको निरन्तरताका रूपमा लिँदै यसबाट द्विपक्षीय सम्बन्ध थप सुदृढ हुने अपेक्षा व्यक्त गरेको छ। मन्त्रालयका अनुसार ऐतिहासिक, कूटनीतिक तथा बहु आयामिक सम्बन्धलाई अझ सघन बनाउने दिशामा भ्रमण फलदायी हुने विश्वास गरिएको छ।
निर्धारित कार्यक्रम अनुसार परराष्ट्र मन्त्री खनाल जेठ २४ गते स्वदेश फर्किनेछन्।





















