शान्ति नमुनाले मनायो ६२ औं वार्षिकोत्सव

खबरपथ संवाददाता
४ फाल्गुन २०७७, मंगलवार २०:५०

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा वडा नं–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयले मंगलबार ६२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रम गरी मनाएको छ ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री बालकृष्ण खाँडले कुनै पनि देशको विकास त्यहाँको शैक्षिक विकासले निर्धारण गर्ने बताउदै शैक्षिक गुणस्तर बढाउन र सामाजिक सेवामा समर्पित विद्यार्थी उत्पादनमा राज्यले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो । राष्ट्रियताको सम्बद्र्धन, लोकतन्त्रको रक्षा र विधिको शासन स्थापित गर्नका लागि अहिले हरेक नागरिक सचेत हुनुपर्ने भन्दै खाडँले त्यसका लागि शैक्षिक जागरणले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।


कार्यक्रममा लुम्बिनी प्रदेश शिक्षा विकास निर्देशनालयका उपसचिव भोज बहादुर के.सी., शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीका प्रमुख दिपेन्द्र ढकाल, डिभिजन कार्यालयका प्रमुख दिपक भण्डारी, नेपाल नेत्रहीन संघका राष्ट्रिय अध्यक्ष रमेश पोखरेल, राष्ट्रिय बहिरा संघका महासचिव खुम बहादुर बुढाथोकी लगायतले विद्यालयको शैक्षिक विकासका लागि योगदान पु¥याउने प्रतिबद्धता जनाउदै शुभकामना दिनुभएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शरद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक कुल प्रसाद लामिछानेले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यार्थी संख्याका आधारमा जनशक्तिको अभाव भएको भन्दै राज्यले शिक्षाको दायित्व र दायरा बढाउनुपर्नेमा जोेड दिनुभयो ।
वार्षिकोत्सवका अवसरमा विद्यालयको बृहतर विकासका लागि खटिने २० जना शिक्षक कर्मचारीहरुलाई सम्मान गरिएको थियो भने विद्यालयमा अक्षयकोष स्थापना गर्ने ५ जना दाताहरु र विद्यालयलाई विविध क्षेत्रमा सहयोग गर्ने ४ वटा संस्थालाई सम्मान गरिएको थियो ।


यसैगरी एस.इ.इ.मा जि.पि.ए. ४ प्राप्त गर्न सफल ८ जना विद्यार्थीहरुलाई स्वर्ण पदकबाट, जि.पि.ए. ३.९० भन्दा माथि प्राप्त गर्ने २५ जनालाई रजत पदकबाट सम्मान गरिएको थियो । त्यस्तै दाताहरुले स्थापना गर्नुभएका ४४ वटा छात्रवृत्ति विद्यार्थीहरुलाई वितरण गरिएको थियो भने गत वर्ष इस.इ.इ. उत्तीर्ण ३ सय ३५ जना र कक्षा १२ उत्तीर्ण २ सय १२ जना विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । यसैगरी जिल्ला स्तरीय हाजिरी जवाफमा प्रथम हुने कान्ति मा.वि., द्वितीय हुने न्यू होराइजन मा.वि., तृतीय हुने देवदह मदर टङ्ग्स, प्रोत्साहन स्थान प्राप्त गर्ने कालिका मानवज्ञान मा.वि.का विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।


यसैबीच पूर्व मन्त्री बालकृष्ण खाँडले विद्यालयमा निर्माण हुन गैरहेको ८ कोठे भवनको सिलान्यास, श्रवण दृष्टि विहिन श्रोत कक्षाको उद्घाटन र विद्यालयको वार्षिक मुखपत्र नानीको विमोचन गर्नुभएको सूचना विभाग संयोजक दिनेश खड्काले जानकारी दिनुभयो ।
कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक स्थानेश्वर बस्यालले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक किशोर कुमार खनाल, अंग्रेजी माध्यमिक संयोजक दिपेन्द्र कुमार शाक्य र दश जोड दुईका संयोजक राजेन्द्र के.सी.ले गर्नुभएको थियो ।
वार्षिकोत्सवका अवसरमा विद्यार्थीहरुले परम्परागत नृत्यहरु, गायन तथा विभिन्न झाँकीहरु प्रस्तुत गरेका थिए भने नृत्य शिक्षक रन्जित भण्डारीले संयोजन गर्नुभएको थियो ।
विद्यालयमा हाल करिव ३६ सय विद्यार्थीहरु अध्ययनरत छन् भने १ सय ४० जना शिक्षक कर्मचारी कार्यरत छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*