प्रहरीद्धारा भागरथी हत्याका आरोपित सार्वजनिक
काठमाडौँ । बैतडीको दोगडाकेदार गाउँपालिका– ७ मा १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न आरोपित दिनेश भट्टलाई प्रहरीले बुधबार सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बैतडीमा बुधबार पत्रकार सम्मेलन गरी प्रहरीले भागरथी भट्टका बलात्कार तथा हत्या आरोपितबारे जानकारी दिएको हो।
जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा डिआईजी उत्तमराज सुवेदीले प्राप्त प्राविधिक प्रमाण, प्रत्यक्षदर्शी, साबिती बयान लगायतका आधारमा भट्टलाई पक्राउ गरिएको बताए ।
हत्याका आरोपमा पक्राउ परेका दिनेश भट्टले अपराध स्वीकारेको प्रहरीले बताएको छ ।
अभियुक्तले भागरथीसँग बदला लिनको लागि उनको हत्या गरेको प्रहरी समक्ष साबिती बयान दिएका थिए ।
दिनेशले भागरथीलाई सुरुमा धकेलेर लडाएको अनि दुवै हातले घाँटी थिचेर हत्या गरेको सुवेदीले बताए। उनीविरुद्ध ज्यान मुद्दामा म्याद थप गरेर विस्तृत अनुसन्धान हुने सुवेदीले बताए ।
प्रहरीले सार्वजनिक गरेका अभियुक्त भट्ट भागरथी अध्ययनरत स्थानीय सनातन धर्म माविको कक्षा ११ मा पढ्ने किशोर हुन् । भागरथी सोही विद्यालयको कक्षा १२ मा व्यवस्थापन संकायमा अध्ययनरत थिईन् ।
गत माघ २१ गते विद्यालयबाट घर फर्कने क्रममा स्थानीय लवलेक जंगलमा १७ वर्षीया किशोरी भागरथीको बलात्कारपछि हत्या भएको थियो ।
प्रकरणको सफल अनुसन्धान गरेको भन्दै स्थानीयवासीले डीआईजी सुवेदी लगायतका अधिकृतहरुलाई फूलमाला लगाइदिएर सम्मान समेत गरेका छन् ।





















