नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै

खबरपथ संवाददाता
६ फाल्गुन २०७७, बिहीबार ०८:५४

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज दिउँसो तीन बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दै छ ।

केन्द्रीय समितिको बुधबारको बैठकबाट १४ औं महाधिवेशनको नयाँ कार्यतालिका प्रस्ताव गरेको कांग्रेसले बिहिबारको बैठकमा संसद विघटनविरुद्धको आन्दोलनका विषयमा छलफल गर्दैछ । कांग्रेसले १४ औं महाधिवेशन आगामी २०७८ साल भदौ ७ गतेदेखि २० गतेसम्म काठमाडौंमा गर्ने प्रस्ताव गरेको छ ।

संसद विघटनविरुद्ध प्रमुख शहरहरुमा ठूला सभा आयोजना गर्नुपर्ने आवाज पनि कांग्रेसभित्र उठेको छ । सहमहामन्त्री प्रकाशशरण महतका अनुसार ठूला सभा राजधानी काठमाडौंमा मात्र गर्ने कि प्रदेशस्तरमा पनि आयोजना गर्ने भन्ने विषयमा छलफल जारी छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले संसद विघटन असंवैधानिक भएकाले संसद पुनःस्थापित हुनुपर्छ भन्ने निर्णय गरेर कांग्रेस सशक्त आन्दोलनमा जानुपर्ने धारणा बुधबारको बैठकमा राखेका थिए ।

सभापति शेरबहादुर देउवा भने संसद विघटनको विषय सर्वोच्च अदालतमा पुगेकाले फैसला गर्न अदालतलाई दबाव पुग्ने खालको कुनै पनि गतिविधि गर्न नहुने धारणा राख्दै आएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*