अर्थमन्त्री पौडेलद्धारा बुटवलदेखि नुवाकोट जोड्ने केबलकारको शिलान्यास

खबरपथ संवाददाता
९ फाल्गुन २०७७, आईतवार १८:४१

बुटवल।  बुटवलदेखि नुवाकोट जोड्ने केबलकारको आज शिलान्यास भएको छ । अर्थमन्त्री विष्णु पौडेलले आईबार बुटवलदेखि नुवाकोटगढी पुग्ने करिब २ किलोमिटर दुरीको केवुलकार लाइन निर्माणका लागी शिलान्यास गर्नुभएको हो । केवलकार शिलान्यास गर्दै अर्थमन्त्री विष्णु पौडेलले तोकिएकै समयमा निर्माण सम्पन्न गर्न आग्रह गर्दै यसका लागि सरकारले आवश्यक सबै खाले सहयोग गर्न तयार रहेको बताउनुभयो ।

उहाँले यो केवलकारको बहुआयामिक महत्व रहेको उल्लेख गर्दै यसले पूर्वाधार विकासमा मात्रै नभै पर्यटन विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले विकास निर्माणले फड्को मारिरहेको रुपन्देहीको इतिहासको मूल्यांकन गर्न आग्रह गर्दै जिल्लाले विकासको रोल मोडलको भूमिका खेलेको बताउनुभयो ।

विकासको महत्वपूर्ण पाठशाला रुपन्देही हो भन्ने सन्देश यहाँ सञ्चालित ठूला ठूला आयोजनाहरुले दिएको पनि उहाँले बताउनुभयो । विकास सिक्न र पढ्नका लागि जानुपर्ने जिल्लाका रुपमा रुपन्देही रहेको चर्चा गर्दै उहाँले यहाँबाट अरु जिल्लाले विकासको पाठ सिक्ने पनि बताउनुभयो ।

कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले केवलकार निर्माण र सञ्चालन पछि भौतिक पूर्वाधारको विकास सँगसँगै आर्थिक गतिविधि पनि बढ्ने बताउनुभयो । कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी, वडा नम्बर १ का वडाअध्यक्ष महेन्द्र लिगल, नुवाकोट विकास समितिका अध्यक्ष माधव नेपाल, डिआर घिमिरे लगायतले बोल्नुभएको थियो ।

बुटवल तथा आसपासका पर्यटन व्यवसायीहरुको लगानी रहेको यस परियोजना १८ महिनाभित्र पूरा हुने लक्ष्य राखिएको सिद्वार्थ केवलकार प्रालिका अध्यक्ष राजेन्द्रसिंह गुरुङ्गले जानकारी दिनुभयो । करिव ८० करोडको लगानीमा निर्माण हुन गइरहेको यो केवलकारले बुटवलको पर्यटन ब्यवसायलाई गति दिने विश्वास कम्पनीको राखेको छ ।

अध्यक्ष गुरुङ्गका अनुसार यो केवलकारमा २५ वटा गण्डोल हुने , दैनिक ५ हजार ब्यक्तिलाई ओहोरदोहोर गराउन सकिने र जसमा एकतर्फी रुपमा जान वा आउन ८ मिनेटको समय लाग्ने छ । यो केवलकार निर्माणका लागि भारतको कलकत्तामा रहेको कन्वेयर एण्ड रोप वे सर्भिसेजसँग सम्झौता भइसकेको छ ।

मनोरम हिमश्रींखलाका साथै तराईका फाँट र भैरहवासम्मका दृष्य देख्न सकिने नुवाकोट गढीसम्म पुग्नका लागि केवुलकार विस्तार हुने भएपछि पर्यटकलाई सहज हुने भएको छ ।

केवलकार निर्माणका लागि नेपाल सरकार मन्त्रिपरिषदले २०७५ साउन २९ मा ३.९८ हेक्टर क्षेत्रफल र २०७६ फागुन १२ मा २.११८ हेक्टर क्षेत्रफलवनको जग्गा ३० वर्षका लागि लिज मा दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*