कोरोनाविरुद्धको १० लाख डोज खोप काठमाडौँ आइपुग्यो
काठमाडौँ । सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको खोप आज काठमाडौँ आइपुगेको छ । सरकारले भारतसँग खरिद गरेको १० लाख डोज ‘कोभिशिल्ड’ खोप एयर इन्डिया दिल्लीको विमानबाट आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो ।
सरकारले फागुन ५ गते सेरम इन्स्टिच्युट अफ इन्डियासँग २० लाख डोज खोप खरिद गर्ने सम्झौता गरेको थियो । त्यही सम्झौता अनुरुप पहिलो खेपको खोप आएको हो । खोपको दोस्रो खेप पनि फागुन २३ गते अगावै आउने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
भारतबाट आएको खोप फागुन २३ गतेदेखि सञ्चालन हुने खोप अभियानका लागि प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत जिल्लास्थित स्वास्थ्य कार्यालयहरुबाट देशैभरका खोप केन्द्रहरुमा वितरण गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।





















