प्रधानमन्त्री ओली गृह जिल्ला झापा जाँदै

खबरपथ संवाददाता
१८ फाल्गुन २०७७, मंगलवार १०:५९

काठमाडौं । प्रधानमन्त्री ओली आज गृह जिल्ला झापा जाँदै हुनुहुन्छ । दुई दिन अघिमात्रै प्रधानमन्त्री ओली झापामा नेपाल–चीन मैत्री औद्योगिक पार्क शिलान्यास गरेर फर्किनुभएको थियो ।

मंगलबार फेरि विर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालको उदघाटन गर्न ओली झापा जान लाग्नु भएको उहाँको सचिवालयले जनाएको छ । दुर्गा प्रसाईंले सन्चालन गरेको क्यान्सर अस्पताल तीन सय शय्या क्षमताको छ ।

प्रधानमन्त्री ओलीले मंगलबार विर्तामोड नगरपालिका–७ मा विपन्न परिवारका लागि निर्मित एकीकृत वस्ती पनि उदघाटन गर्ने कार्यक्रम तय भएको छ ।

विर्तामोड नगरपालिकाका मेयर ध्रुव कुमार शिवाकोटीका अनुसार प्रधानमन्त्री ओलीले ३५ परिवारलाई घर हस्तान्तरण गर्नुहुनेछ । ‘७ धुर जग्गासहितको घर विपन्न परिवारले पाउने छन्,’ शिवाकोटीले भने ।

झापापछि प्रधानमन्त्री ओली मोरङको उर्लाबारी आउने कार्यक्रम छ । उर्लाबारीमा सन्थाल जातीको एकीकृत बस्ती शिलान्यास गर्ने कार्यक्रम तय भएको छ ।

संसद पुनः स्थापनापछि प्रधानमन्त्री ओलीको अहिले देश दौडाहा बढेको छ । उदघाटन, शिलान्यास लगायतका कार्यक्रमका लागि ओली व्यस्त हुने गर्नुभएको छ । सोमबार प्रधानमन्त्री ओली पोखराका बिभिन्न कार्यक्रममा सहभागी भएर फर्किनु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*