अनाधिकृत निकासी रोक्न भन्दै रुपन्देही उद्योग संघले बुझायो ज्ञापन पत्र

खबरपथ संवाददाता
१८ फाल्गुन २०७७, मंगलवार २१:१५

बुटवल। भन्सार नाकाहरुबाट अनाधिकृत रुपमा उद्योगका कच्चा पदार्थहरु निकासी बढेको भन्दै रुपन्देही उद्योग संघले सम्बन्धित कार्यालयहरुमा ज्ञापन पत्र बुझाएको छ । गैर कानूनी ढंगबाट निकासी बढेका कारण नेपाली रिसाइक्लिन उद्योगहरु बन्दको अवस्थामा पुगेको भन्दै संघले प्रशासन र भन्सार कार्यालयहरुको ध्यानाकर्षण गराएको हो । हाल भन्सारबाट पुराना टायर, प्लाष्टिक, फलाम तथा कागज लगायतका कवाडी सामानहरु तस्करी मार्फत भारत तर्फ निकासी भइरहेको र त्यसका कारण उद्योगहरुले कच्चा पदार्थको अभाव खेप्नु परेको भन्दै संघको डेलिगेसन टोलीले जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरे, पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठक, बेलहिया भन्सार कार्यालयका प्रमुख मनिराम पौडेल र जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक प्रविण पोखरेलसँग भेट गरी समस्याबारे अवगत गराएको हो । संघका अध्यक्ष बाबुराम बोहोराको नेतृत्वमा गएको डेलिगेसन टोलीले संघमा आवद्ध उद्योगीहरुले खेप्नु परिरहेका समस्या समाधानका लागि तत्काल पहल कदमका लागि आग्रह समेत गरेको थियो । अध्यक्ष बोहोराले स्वदेशी उद्योगको संरक्षण, रोजगारी अभिबृद्धि र आर्थिक विकासका लागि खुल्ला भन्सार बाधक बनेको बताउनुहुँदै तत्काल गैर कानूनी क्रियाकलाप रोक्नुपर्नेमा जोड दिनु भएको थियो । ज्ञापन पत्र बुभ्नु हुँदै प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले मातहतका सबै निकायहरुलाई तत्काल निर्देशन जारी गर्ने र उद्योगहरुको समस्या समाधानका लागि गम्भिर रुपमा अघि बढ्ने बताउनु भएको थियो ।

सो क्रममा पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी सागरमणी पाठकले जिल्लामा हुने गरेका गैर कानूनी क्रियाकलापहरु रोक्न आपूहरु सधैं कटिवद्ध रहेको र अनाधिकृत निकासी हुन नदिने आश्वासन समेत दिनु भएको थियो । भन्सार कार्यालयका प्रमुख मनिराम पौडेलले गैर कानूनी निकासी गतिविधिलाई कारवाहीको दायरामा उभ्याइने प्रतिवद्धता व्यक्त गर्दै नीतिगत सुधारहरु समेत गर्नुपर्ने बताउनु भएको थियो । रुपन्देही जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रविण पोखरेलले गैर कानूनी निकासीका सूचनाहरु तत्काल प्रहरी समक्ष पु¥याउन आग्रह गर्नुहुँदै सबै प्रहरी प्रशासनलाई थप चनाखो बनाई परिचालन गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो । डेलिगेसन टोलीमा संघका निवर्तमान अध्यक्ष गणेशप्रसाद अधिकारी, पूर्ब अध्यक्ष बोनिन पिया, वरिष्ठ उपाध्यक्ष माधब प्रसाद पौडेल, दितीय उपाध्यक्ष कृष्ण प्रसाद पराजुली, पूर्व उपाध्यक्ष अजयमान श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत यादव प्रसाद भण्डारीको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*