तिलोत्तमालाई केन्द्रमा राखेर महानगर बनाइन्छ : अर्थमन्त्री पौडेल
बुटवल । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले रुपन्देहीको तिलोत्तमालाई केन्द्रमा राखेर महानगर बनाईने बताएका छन् । बिहिबार तिलोत्तमा नगरपालिकाको वडा नम्बर ६ कुञ्जलापुरमा निर्मित प्रशासनिक भवनको समुद्घाटन गर्दै अर्थमन्त्री पौडेलले सोही ठाउँलाई प्रशासनिक केन्द्र बनाएर महानगर बनाउने बताएका हुन । पौडेलले रुपन्देहीको तिलोत्तमामा जिल्लाका बुटवल उपमहानगरपालिकासहित सिद्धार्थनगर नगरपालिका, देवदह लगायतका क्षेत्रलाई समेटेर प्रशासनिक कार्यालय तिलोत्तमा रहने गरी महानगर निर्माण गरिने बताए ।

पौडेलले रुपन्देही विकास निर्माणका दृष्टिले नेपालमै रोल मोडल बनेको दावी गर्दै विकास सिक्न रुपन्देही आउनुपर्ने बताए । उनले जिल्लालाई विकासका हरेक क्षेत्रमा कुनै पनि हिसाबले पछि पर्न नदिने प्रतिवद्धता व्यक्त गरे ।
सिद्धबाबामा सुरुङ मार्ग निर्माणका लागि टेण्डर आह्वान गर्ने चरणमा पुगेको भन्दै अर्थमन्त्री पौडेलले कालिगण्डकी तिनाउ डाइभर्सन पनि छिटै कार्यान्वयन हुने बताए ।
त्यसैगरी उनले झुम्सा खानेपानी आयोजना, बुटवल मेडिकल कलेजलाई मेडिकल युनिभर्सिटी बनाउने सोंचका साथ अघि बढेको बताए । लुम्बिनी गुरुयोजना दुई वर्षभित्र पूरा हुने उल्लेख गर्दै उनले गुरुयोजनाका लागि वजेट अभाव नहुने बताए ।
आठ बिगाहा १४ कट्ठा क्षेत्रफलमा फैलिएको प्रशासनिक भवन परिसरमा १९१२.६ वर्गमिटरमा फैलिएको चार तलाको भवन निर्माण भएको छ । भवनमा करिव १२० जना क्षमताको सभाहलसहित ४० कोठा रहेका छन् ।
अपाङ्तामैत्री, लिफ्ट सुविधासहितको भवनमा आकर्षक गार्डेनिङको काम अघि बढेको छ । ८ करोड ७९ लाख लागत अनुमान रहेको भवनको निर्माण सम्झौता ६ करोड ४२ लाखमा भएको थियो ।
भवनमा ६ जना सवार गर्ने लिफ्ट, चिसो–तातो पानी, नगर प्रहरी आवास लगाएतका सेवाहरु रहेका छन् । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल –भैरहवा सडकखण्डबाट १२ सय मिटर पश्चिम रहेको नगरको प्रशासन भवनमा आवत–जावतका लागि ३४ फुटको सडक विस्तार तथा गेट निर्माण कार्य जारी रहेको छ । समारोहमा जग्गा संरक्षण गर्ने स्थानीय तथा नगर भवन अगाडि रहेको बुद्धमूर्ति निर्माण गर्ने मूर्तिकारलाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य एवम् पूर्वमन्त्री छबिलाल विश्वकर्मा, प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरी, प्रदेश सांसदहरु भोजप्रसाद श्रेष्ठ, रमा अर्याल, बुटवल उपमहानगरपालिका उप–प्रमुख गोमादेवी आचार्य, नेकपाका नेता तथा सोह्र÷छत्तीस संयुक्त सिंचाई प्रणालीका अध्यक्ष यज्ञ गैरे, तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष माधव भण्डारी, ईञ्जिनियर प्रदीप वन लगाएतले आफ्ना भनाई राखेका थिए ।
नगर प्रमुख बासुदेव घिमिरेको अध्यक्षता तथा उप–प्रमुख जगेश्वरदेवी चौधरीको स्वागत, प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेलको धन्यवाद ज्ञापन रहेको कार्यक्रमको सञ्चालन प्रवक्ता सुरेन्द्र श्रीले गरेका थिए ।





















