म प्रधानमन्त्रीको दौडधुपमा छैन – सभापति देउवा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्रीको दौडधुपमा नरहेको बताउनुभएको छ ।
देउवा निवास बुढानिलकण्ठमा नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महरले लेखेको ‘महाकाण्ड’ पुस्तकको विमोचन गर्दै प्रधानमन्त्रीको दौडधुपमा नरहेको बताउनु भएको हो ।
उहाँले काँग्रेसलाई विपक्षमा बस्ने जनताको म्याण्डेड भएको भन्दै आफू प्रधानमन्त्री बन्न नचाहेको बताउनुभयो ।
सभापति देउवाले भन्नुभयो मलाई प्रधानमन्त्री बन्ने लोभ, लालच छैन । मलाई यसमा लाग्नु पनि छैन ।’ नेकपाको आफ्नै झगडा चलिरहेको भन्दै देउवाले आफू प्रधामन्त्रीको दौडमा लागेर नफस्ने बताउनुभएको छ ।
उहाँले कांग्रेसले प्रतिनिधिसभामा प्रधानमन्त्रीविरुद्ध दर्ता गरिने अविश्वास प्रस्तावको पक्षमा उभिने–नउभिने भन्ने विषयमा तत्काल निर्णय नगर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘नेकपामा ओली र प्रचण्ड–नेपाल समूह आइतबारबाट हुने प्रतिनिधिसभा बैठकमा कसरी प्रस्तुत हुन्छन्, त्यही अनुसार रणनीति तय गर्ने कांग्रेसको योजना छ । व्यावहारिक रूपमा नेकपा दुई समूहमा विभाजित भए पनि पार्टी विभाजन औपचारिक रूपमा नभएकाले कांग्रेसले ‘पर्ख र हेर’ को रणनीति अपनाएको हो।’
नेकपाका दुवै समूहले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्न आग्रह गरे पनि कांग्रेसका अधिकांश सांसदले अहिले सरकारमा जान नहुने बताएका छन् ।





















