सुन्दरीजलमा आइपुग्यो मेलम्चीको पानी
काठमाण्डौं । करिब दुई दशकपछि मेलम्ची नदीको पानी सुरूङ हुँदै शनिबार काठमाडौं स्थित सुन्दरीजलमा आइपुगेको छ । पानी आगमनको अवसरमा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले बटन थिचेपछि मेलम्चीको पानी सुन्दरीजलमा झरेको हो ।
फागुन १० गते परीक्षणका लागि मेलम्ची खानेपानी आयोजनाको सुरुङमा हालिएको पानी २६ किलोमिटर सुरुङ पार गर्दै प्रशोधन केन्द्रमा आइपुगेको हो ।
सुरूङ हुँदै आएको मेलम्चीको पानी यही केन्द्रमा प्रशोधन गरी काठमाडौं उपत्यकामा वितरण गरिनेछ। अहिले भने परीक्षणका लागि प्रतिसेकेन्ड २६० लिटर पानी मात्रै हालिएको छ । परीक्षण सफल भएपछि प्रतिदिन १७ करोड लिटर पानी सुन्दरीजलमा आइपुग्ने आयोजनाका अधिकारीहरूले जानकारी दिएका छन्।
आयोजनाको मुहानबाट सुरूङमार्ग साढे २६ किलोमिटर लामो छ। सुरुङमा पानी प्रवाह सफल भए अबको तीन महिनाभित्र काठमाडौं उपत्यकामा वितरण प्रणाली विस्तार गरिएको स्थानका नागरिकले मेलम्चीको पानी प्रयोग गर्न पाउनेछन् ।





















