प्रधानमन्त्री ओलीले लगाए कोभिड १९ विरुद्धको खोप
काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार कोभिड १९ विरुद्धको खोप लगाउनुभएको छ ।
नेपाल सरकारले आजदेखि ६५ वर्ष माथिका सबैलाई खोप लगाउने अभियान थालनी गरेसँगै प्रधानमन्त्री र उनकी धर्मपत्नी राधिका शाक्यले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा पुगी खोप लगाउनुभएको हो ।
खोप लगाएपछि संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले आफूसँगै सबैलाई खोप उपलब्ध भएकोले यस अभियानमा सरिक हुन आग्रह गर्नुभयो । ‘ढुक्कले खोप लिनुस्, मेरो सबैलाई आग्रह छ’, प्रधानमन्त्रीले भन्नुभयो ।
प्रधानमन्त्री ओलीले संचारकर्मीहरुसँग बोल्दै कोभिड १९ विरुद्धको लडाँई अब खोपको चरणमा पुगेको बताउनुभयो ।
आफूलाई खोप लगाएपछिका कुनै साइडइफेक्ट नदेखिएको बताउँदै ओलीले सबैलाई ढुक्क भएर खोप लगाएर कोभिड पराजित गर्ने अभियानमा सामेल हुन आह्वान गर्नुभयो।
शिक्षण अस्पतालमा प्रधानमन्त्री ओलीले खोप लगाए लगत्तै परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, उद्योग वाणिज्य तथा लेखराज भट्ट तथा प्रधानमन्त्रीका सल्लाहकारहरु र स्वकीय सचिवालयमा कार्यरतहरुले पनि खोप लगाउनुभएको थियो ।
आईतबारदेखि देशभर ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई पनि खोप लगाउन शुरू गरिएको छ । हिमाली भेगका १५ जिल्लामा भने ५५ वर्ष माथिका नागरिकलाई पनि खोप प्रदान गरिने छ ।
दोस्रो चरणको खोप अभियान देशभरका ६ हजार खोप केन्द्रबाट सञ्चालन गरिने छ ।





















