अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा राष्ट्रपतिद्धारा शुभकामना ब्यक्त
काठमाण्डौं । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा राष्ट्रपति विधादेवि भण्डारीले शुभकामना ब्यक्त गर्नुभएको छ ।राष्ट्रपतिले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनीलाई हार्दिक बधाई दिँदै सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा राष्ट्रपति भण्डारीले लैङ्गिक समानताको उद्देश्य पूरा गर्न शिक्षा, स्वास्थ्य, रोजगारी लगायत सार्वजनिक सेवा, सुविधा र अवसरमा महिलाको समान पहुँच सुनिश्चित हुनुपर्ने बताउनुभएको छ ।
एक सय ११ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा एक शुभकामना सन्देश दिँदै उहाँले नेपालको संविधानले व्यवस्था गरे अनुसार राजनीतिक तथा हरेक सार्वजनिक निकायमा महिलाको समानुपातिक सहभागिता प्राप्तिका लागि कार्यान्वयन तहमा थप प्रयत्नको खाँचो महसुस गरेको उल्लेख गर्नुभएको छ ।
संसारभरिका विभिन्न क्षेत्रमा काम गर्ने महिलाहरूले हासिल गरेका राजनीतिक, आर्थिक र सामाजिक उपलब्धिलाई स्मरण गर्दै महिला अधिकार तथा लैङ्गिक समानताको पूर्ण प्राप्तिका लागि हरेक वर्ष ८ मार्चलाई अन्तर्राष्ट्रिय महिला दिवसका रूपमा मनाइने गरेको राष्ट्रपतिले स्मरण गर्नुभएको छ ।
यस वर्ष ‘महिलाको सुरक्षा, सम्मान र रोजगार , समृद्ध नेपालको आधार’ भन्ने राष्ट्रिय सङ्कल्पका साथ अन्तर्राष्ट्रिय महिला दिवस मनाइरहेको उल्लेख गर्नुभएको छ ।
उहाँले उक्त सङ्कल्पलाई साकार पार्न महिला र पुरुषका बीचमा विद्यमान आर्थिक, सामाजिक तथा सांस्कृतिक विभेद हटाउनेतर्फ व्यक्ति, परिवार, समाज, सङ्घसंस्था तथा राज्यका सबै निकायहरू अग्रसर हुनु आवश्यक रहेको बताउनु भएको
राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
राष्ट्रपतिले भन्नुभएको छ , “यस दिवसले हामी सबैलाई महिलाहरूको हक, अधिकार र सम्मानप्रति पूर्ण संवेदनशील भई लैङ्गिक समानताका लागि क्रियाशील सम्पूर्ण अधिकारकर्मीलाई थप उत्साहका साथ काम गर्ने प्रेरणा प्रदान गरोस् भनी कामना गर्दछु ।”





















