दलित पत्रकार संघको महाधिवेशन : मिडिया र समावेशिताको सवालमा छलफल
बुटवल । राष्ट्रिय दलित पत्रकार संघ नेपालको बुटवलमा जारी प्रथम महाधिवेशनको दोस्रो दिन शनिबार पत्रकारिताका विभिन्न बिषयमा छलफल भएको छ । आम सञ्चारमा लैंगिकता र सामाजिक समावेशिकरणका सवालमा विभिन्न बिषयमा छुटाछुट्टै बिषयमा छलफल गरिएको हो ।
आन्तरीक मामिला मन्त्रालयसँगको सहकार्यमा आमसञ्चार क्षेत्रमा लुम्बिनी प्रदेश सरकारले बनाएका कानुन तथा सत्तचालन गरेका कार्यक्रमका बारेमा छलफल गरिएको छ । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै आन्तरीक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले सञ्चार सम्बन्धि एकिकृत कानुन निर्माणमा जुटेको बताउनु भयो । उहाँले कानुन निर्माणका सवालमा छलफलको दायरा अझ फराकिलो बनाउने समेत प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले कानुन परिवतनीय बिषय भएकाले त्यसमा त्रृटि भए सच्चाउने समेत उल्लेख गर्नुभयो ।
कार्यक्रममा सचिव रविलाल पन्थले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । प्रदेश सरकारसँग प्राविधिक जनशक्तिको अभावका कारण काम गर्न समेत कठिनाई भएको उहाँले बताउनु भयो । त्यस अवसरमा नेपाल पत्रकार महासंघका सचिव रेम विश्वकर्माले सरकारले दिने अनुदान तथा अन्य सुुविधा सामाजिक बनोट अनुसार गर्न सुुझाव दिनु भएको थियो । कार्यक्रममा नेपाल प्रेस युनियन रुपन्देहीकी सभापति रेखा भुसालले प्रदेश सरकारले सञ्चार कानुन निर्माणमा जनसहभागिता बढाउन सुुझाव दिनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय पूर्व उपसभापती उमिद बागचन्द, संघका अध्यक्ष विनोद पहाडी लगायतले भनाई राख्नुभएको थियो । यसैगरि मिडियामा महिला र दलित महिलाका बिषयमा सञ्चारीका समूहका पूूर्व अध्यक्ष पत्रकार निर्मला शर्माले महिला पत्रकारलाई अझै पनि समाजले स्विकार गर्न नसकेको बताउनु भयो । यसैगरि आमसञ्चारमा समावेशिताको सवालका बारेमा लेखक तथा अनुसन्धानकर्ता जेवि विश्वकर्माले बोल्दै दलितका सवालमा परिभाषा नै गलत भएको औंल्याउनु भयो । यसैगरि आमसञ्चार र दलित युवाका सवालमा दलित आन्दोलनका नेताहरु पर्शुराम रम्तेल, गणेश नेपाली, मोतीलाल नेपाली लगायतले भनाई राख्नुभएको थियो । राष्ट्रिय महाधिवेशनका सवालमा देशैभरका पत्रकारहरुले छलफलमा भाग लिएका छन् । सम्मेलन बुटवल घोषणापत्र जारी गर्दै आईतबार सकिने केन्द्रीय अध्यक्ष विनोद पहाडीले जानकारी दिनुभयो ।





















