रुपन्देहीमा करिब एक लाख परिवारले जग्गाको स्वामित्व पाउने

खबरपथ संवाददाता
३ चैत्र २०७७, मंगलवार १९:१५

बुटवल। रुपन्देहीमा करिब एक लाखको संख्यामा अव्यवस्थित बसोबासी तथा भूमिहीन  परिवार रहेको प्रारम्भिक विवरण सार्वजनिक गरिएको छ ।

भूमि सम्बन्धी समस्या समाधान आयोग जिल्ला समिति रुपन्देहीले मंगलबार बुटवलमा पत्रकार सम्मेलन गरी जिल्लामा  भूमिहिन दलित, भूमिहिन सुकुम्बासी, अव्यवस्थीत बसोबासी तथा अधुरा कार्यसँग सम्बन्धित एक लाख घर परिवारले जग्गाको स्वामित्व प्राप्त गर्न सक्ने देखिएको जानकारी दिएको हो ।

आयोगको जिल्ला समितिले केही पालिकाहरुमा तत्थांक संकलन भइसकेको र केही तथयांक संकलन जारी रहेको जनाएको छ । अहिलेसम्म प्राप्त तथ्यांकलाई विश्लेषण गर्दा सो संख्यामा भूमिहिन र सुकुम्बासी रहेको आँकडा निकालिएको जानकारी दिएको हो ।

तथ्यांक संकलन गरिएका पालिकाहरु मध्ये बुटवल उपमहानगरपालिकामा १५ हजार ४ सय ३, देबदह नगरपालिकामा १४ हजार ३ सय ४३, सैनामैना नगरपालिकामा १३ हजार, तिलोत्तमा नगरपालिकामा ७ हजार ७ सय ३२, कञ्चन गाउँपालिकामा १२ हजार ६ सय ८६, गैडहवामा ८ हजार ९ सय १५ र मायादेवी गाउँपालिकामा ७ सय १६ परिवार भूमिहिन र अव्यवस्थित बसोबासी रहेको पाइएको आयोगका जिल्ला अध्यक्ष बलबहादुर आचार्यले जानकारी दिनुभयो ।

सियारी र शुद्धोधन गाउँपालिकामा तथ्यांक संकलनको कार्य सुरु भएको छ।  सिद्धार्थनगर नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका, रोहिणी गाउँपालिका, ओमसतिया गाउँपालिकामा, कोटइमाइ, मर्चवारी र सम्मरीमाइ गाउँपालिकामा पनि तत्यांक संकलनको तयारी सुरु गरिएको आचार्यले जानकारी दिनुभयो ।

नेपाल सरकारले गत माघ १५ गते भूमि सम्बन्धी समस्या समाधान आयोगका जिल्ला जिल्ला समिति गठन गरेको थियो । आचार्य नेतृत्वको जिल्ला समितिले रुपन्देहीमा माघ २४ गतेबाट काम थालेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*