बुटवलमा जितगढी (बटौली) युद्ध संग्रहालय शिलान्यास

खबरपथ संवाददाता
४ चैत्र २०७७, बुधबार १३:२८

बुटवल । बुटवल उपमहानगरपालिकामा ऐतिहासिक सम्पदा स्थल जितगढी र सांस्कृतिक सहर पुरानो बुटवल (बटौली) लाई जोड्ने गरि संग्रहालय निर्माण सुरु भएको छ ।

यो ऐतिहासिक जितगढी किल्लामा भएको तत्कालिन नेपाल–अंग्रेज युद्ध ताकको झल्को दिनेगरि निर्माण गर्न लागिएको महत्वपूर्ण संरचना हो । जितगढी बटौली युद्ध संग्रहालयको बुधबार एक समारोहका बीच उपमहानगरका प्रमुख शिवराज सुवेदीले शिलान्यास गर्नुभयो ।

राष्ट्रिय स्वाभिमान, पहिचान र शानको रुपमा रहेको जितगढीलाई बटौली पर्यटनको केन्द्रका रुपमा लिंदै सोही अन्तर्गतको एउटा कामका रुपमा संग्रहालयलाई लिइएको प्रमुख सुवेदीले बताउनुभयो ।

सुवेदीले प्राचीन सहरले जन्माएर सबै उपसहरहरुलाई जोड्ने एउटै पर्यटन सर्किट बनाइने बताउँदै उहाँले बु्टवल चक्रपथ, तिनाउ–दानव कोरिडोर र छिमेकका पालिकाका सडक सञ्जालमा बुटवलको पर्यटन सर्किट जोडिने बताउनुभयो ।

बुटवल उपमहानगरपालिकाले बनाएको एकीकृत सहरी विकास गुरुयोजनामा रहेको पर्यटन अन्तर्गतको एउटा कामका रुपमा संग्रहालय रहेको प्रमुख सुवेदीले बताउनुभयो ।

बुटवलमा जनप्रतिनिधि निर्वाचित भएपछि बुटवलको आवधिक र दीर्घकालीन महत्वका योजना तय भएका छन् । अबको ५० वर्षपछिको बुटवलको जनघनत्वलाई अनुमान गरेर एकीकृत सहरी विकासको गुरुयोजना बनाइएको छ ।

बुटवल वडा नं. १ को भैरव मन्दिर नजिकै रहेको उपमहानगर करिब तीन कट्ठा जग्गामा उक्त संग्रहालय बन्नेछ । संग्रहालय चार तलाको बन्ने छ । पहिलो, दोस्रो, तेस्रो तलामा म्युजियम र चौथो तलामा परम्परागत खानाको परिकारसमेत पाइने गरि क्याफे रहने छ ।

यस्तै तल्लो तलामै बुटवललाई चिनाउने विभिन्न किसिमका सामान र मायाको चिनोहरु राखिएको शोभिनियर सप रहने छ ।
करिब ६ करोड ८२ लाख ५० हजार दुई सय ५६ रुपैयाँ बराबरको लागतमा उक्त संग्रहालय निर्माण हुन लागेको हो । निर्माणकार्यका लागि उपमहानगर र निर्माण कम्पनीका बीचमा गत माघ १० गते सम्झौता भएको थियो ।

बुटवलको पहिचान झल्काउने, नयाँ पुस्तालाई जानकारी गराउने, आगन्तुक पाहुनाहरुलाई पनि झल्को देखाउने र बुद्धावलीको प्राचीन बटौली देखि हालको बृहत्त बुटवलको अवस्थाका बारेमा जानकारी गराउने खालको संग्रहालय निर्माण गर्न लागिएको उपमहानगरका उपप्रमुख गुमादेवी आचार्यले बताउनुभयो ।

शिलान्यास समारोहमा सहभागी नेपाली कांग्रेसका महासमिति सदस्य युवराज गिरी, नेकपा एमालेका बुटवल उपमहानगर कमिटी अध्यक्ष बाबुराम पन्थीलगायतले निर्माणकार्यको सफलताको कामना गर्दै उपमहानगरले गुरुयोजना कार्यान्वयनमा देखाएको तदारुकताको प्रसंशा गर्नुभयो ।

निर्माण कम्पनी शिवशक्ति कन्स्ट्रक्सन कम्पनी प्रालिका प्रतिनिधि इन्जिनियर प्रभाकर लामिछानेले तोकिएको समय अगावै निर्माण सक्नेगरि काम गरिने प्रतिवद्धता जनाउनुभयो ।

उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले निर्माणकार्यका लागि आवश्यक पर्ने समन्वय र सहकार्यमा उपमहानगरले कुनै कसुर बाँकी नराख्ने भन्दै निर्माण कम्पनीको प्रतिबद्धताको सराहना गर्नुभयो ।

वडा नं १ का अध्यक्ष महेन्द्रप्रसाद लिगलले समुदाय स्तरबाट सहयोग र सहकार्य रहने बताउँदै तोकिएको समयमै निर्माणकार्य सक्ने प्रतिबद्धताले आफुहरुलाई खुशी लागेको बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*