सरकारले यातायात व्यवसायीको अभिभावकको रुपमा जिम्मेवारी निर्वाह गर्छ : मन्त्री चौधरी
बुटवल । लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले सरकारले यातायात व्यवसायीहरुको अभिभावकको रुपमा जिम्मेवारी निर्वाह गर्ने बताउनुभएको छ ।
पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.को प्रथम अधिवेशनबाट चयन नयाँ नेतृत्वको पदस्थापन कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सरकारका प्रवक्ता मन्त्री चौधरीले यातायात क्षेत्रमा देखिएका समस्याहरुको समाधानका लागि सरकारले व्यवसायीहरुको साथ र सहयोगको अपेक्षा गरेको बताउनुभयो ।
मन्त्री चौधरीले सार्वजनिक यातायातको क्षेत्रमा काम गर्ने मजदुरहरुको ब्यवहार सुधार आवश्यक रहेको बताउँदै व्यवसायीहरुले नै यातायात क्षेत्र सुरक्षित र आरामदायि छ भन्ने विश्वास दिलाउन सक्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा प्रालिका अध्यक्ष दधिराम खरेलले सरकारले ब्यवसायीहरुलाई संकटको बेलामा समेत सहि ढंगले अभिभावकत्व दिन नसकेको गुनासो गर्नुभयो ।
खरेलले आफू जहिले पनि यातायात ब्यवसायीहरुको हितको पक्षमा रहेको बताउँदै आगामी दिनमा सबैलाई समेटेर प्रालिलाई अगाडि बढाउने बताउनुभयो ।

प्रालिका सञ्चालकहरुको बैठकले खरेललाई अध्यक्षमा सर्बसम्मत निर्वाचित गर्नुका साथै प्रवन्ध संचालकमा रामचन्द्र भुसाल र कोषाध्यक्षमा मोहन पिएसलाई सर्वसम्मत निर्वाचित गरेको हो ।
प्रालिको नियमावली अनुसार गत फागुन २९ गते ११ जना सञ्चालकहरुको निर्वाचन भएको थियो । सञ्चालकहरुको बैठकले पदाधिकारीहरुको चयन गर्नुका साथै निर्वाचनमा सहयोग गर्ने सम्पूर्ण यातायात ब्यवसायी निर्वाचन समिति प्रालिका कर्मचारी, सुरक्षाकर्मी सञ्चारकर्मी सबैलाई धन्यवाद तथा आभार ब्यक्त गर्ने निर्णय गरेको नवनिर्वाचित कोषाध्यक्ष मोहन पिएसले जानकारी दिनुभयो ।
बैठकले पछिल्लो एक वर्षयता देखिएको समस्या समाधान र निरन्तर रुपमा इन्धनको मूल्य बढ्दा समेत सरकारले ब्यवसायीसंग यसअघि वैज्ञानिक भाडादर कायम गर्ने गरिगरेको सम्झौता कार्यान्वयनका लागि पहल गर्ने निर्णय समेत गरेको कोषाध्यक्ष पिएसले बताउनुभयो ।





















