आजदेखि गैँडाको गणना सुरु हुँदै
चितवन । आज देखि विश्वकै दुर्लभ मानिने एक सिङे गैँडाको गणना सुरु हुने भएको छ । तोकिएको समय भन्दा करिब दुई वर्ष पछि गैँडाको गणना सुरु हुने भएको हो ।
एक सिङे गैँडाको गणनाको लागी आवश्यक सबै तयारी पूरा भएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । गणना चितवन र पर्सा राष्ट्रिय निकुञ्जको गणना एकैसाथ सुुरु गरिँदै छ ।
वन तथा भू(संरक्षण मन्त्री प्रेम आलेमगरले पर्सा राष्ट्रिय निकुञ्जको प्रतापपुरमा वनदेवीको पूजा गरी गैँडा गणनाको सुरुआत गर्ने कार्यक्रम रहेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख अणनाथ बरालले जानकारी दिनुभयो । गैँडा गणना राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको नेतृत्वमा हुन लागेको हो ।
चितवन र पर्सालाई एउटा ब्लक बनाइएको छ । यी दुई निकुञ्जमा सोमबार देखि र बर्दिया राष्ट्रिय निकुञ्जमा चैत १७ गतेदेखि र शुक्लाफाँटामा चैत्र १९ गतेदेखि गणना सुरु हुँदैछ ।
दुई निकुञ्जमा गैँडा गणना गर्न कम्तीमा २० दिन लाग्ने अनुमान गरिएको छ । चैत २९ गतेसम्ममा चारवटै निकुञ्जमा गैँडा गणना सकेर वैशाख पहिलो साता नतिजा सार्वजनिक गर्ने गरी तयारी रहेको छ ।
पाँच’पाँच वर्षमा गैँडा गणना गर्ने भनिए पनि अघिल्लो वर्ष कोरोना भाइरस कोभिड-१९ र त्यसअघि बजेट अभावका कारण गैँडा गणनाको काम रोकिएको थियो ।





















